कमरेड ओली, पार्टी फुटको श्रेय लिन तयार हो ?

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


यतिबेला कमरेड प्रचण्डको हवाला दिँदै ‘आ–आफ्नो बाटो लागौं’ भन्ने कमरेड केपी शर्मा ओलीको भनाइ भाइरल भइरहेको छ । यसले एक प्रकारको तरङ्गले अन्योल, उत्साह र आशंका उब्जाएको छ । महासचिव कमरेडको ‘बिज्ञप्ति’ पनि अभिलाक्षणिक छ र कतिपय नेताहरुले ‘गम्भीर’ सरोकार व्यक्त गरिरहनुभएको छ ।

राजनीतिक दस्ताबेज टेवल गरेपछि बिचारका आधारमा बिभाजन पैदा हुनुलाई स्वभाविक मान्न सकिन्थ्यो । तर, जतिसुकै ठूलो राम्रोको लागि बिभाजन स्वीकारिए पनि बुझिने कुरा भनेको स्वार्थको कारणले फुटेको भन्ने नै हुने भयो, यो राजनीतिको लागि अस्वस्थकर नै मानिन्छ ।

बिभाजन होला नहोला फरक पर्दैन, गत्यावरोध हट्ने होइन आशा बिश्वास र उर्जामा गुणात्मक अन्तर आउने होइन, देश र जनताको हितमा कार्यक्रमिक सुधार हुने होइन । सँगै रहँदासम्म कार्यकर्ता सधैं फुटको आशंकामा दिन गनेर बस्ने नै हो । तर पनि मानिसहरु फुटभन्दा एकता (शब्द) को पक्षमा देखिन्छन्, फुटको पक्षमा होइन । यो मनोविज्ञान मात्र होइन, यसमा पनि कार्यकारण सम्बन्ध खोज्नु आवश्यक छ ।

विगतमा दरबार हत्याकाण्ड पछि राजामार्फत निरंकुश शासनको सुरुवात गर्ने, जनयुद्धको विरुद्ध मुद्दामा सम्भावनाको हदसम्म एकता कायम गर्ने (राजनीतिक शक्तिहरुलाई पछि लगाउने ) अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्ने र शानदार सत्ता चलाउने महत्वाकांक्षासँग राजालाई आलङ्कारिक राखेर संसदीय व्यवस्थाको नाममा दलाल तथा नोकरशाही पूँजीवादी सत्ता (कन्जरवेटिभ प्रोग्राममा आधारित ) चलाउने दुई महत्वाकांक्षा बीचको टकरावको कारण वैदेशिक शक्तिको माओवादीलाई एक्ल्याउने र सिध्याउने काममा अवरोध पैदा भयो ।

अमेरिकालाई मत्थर पार्दै भारतलाई सहमतिमा लिएर कांग्रेस–माओवादी गठबन्धनको माध्यमबाट राजतन्त्र हटाउने खेल शुरु गरियो । प्रतिक्रियावादी धाराको एकीकरण र कम्युनिस्ट प्रभावको नियन्त्रण यसको अन्तरवस्तु थियो । तर बढ्दो वाम जनमत र नेपालभित्र बढ्दो भारत विरोधी भावनाका कारण देशी–विदेशी प्रतिक्रियावादसामु खतरा यथावत रह्यो ।

त्यसपछि सुनियोजित ढंगले वाम सरकार गठन गर्ने लोकपृय नाराहरु कार्यान्वयनमा अबरोध पैदा गर्ने कमजोर तत्वलाई उक्साउने ब्यक्तिवादी सोंचेको बिकास गर्ने अन्तरिक अन्तरविरोध चर्काउने जनताको समर्थन कमजोर पार्ने नेतृत्वलाई बदनाम गराउने र अन्ततः बिभाजित गर्ने र कठपुतली सत्ता स्थापना गर्ने चाल चल्न थालियो ।

भारतका दुई महत्वाकांक्षाले उसलाई उक्त कार्यको पछि लगायो, एक माओवादीको मध्यस्थतामा भाकपा मालेका भिभिन्न समूहलाई वार्तामा ल्याउने र सशस्त्र गतिविधि बन्द गराउने । रिमले शान्तिसम्झौताको विरोध गरिसके पछि यो सम्भावना बाँकी रहेन ।

दुई साम्राज्यवादको सहयोगमा दक्षिण एसियामा आर्थिक र सैनिक शक्ति बढाउने हस्तक्षेप कायम राख्ने । तर पश्चिमी साम्राज्यवादी देशहरु नेपालमा छद्म उपनिवेश कायम गर्दै पूर्वी एसियाको पकड बनाइ राख्न नेपालबाट चीनमाथि दबाव कायम राख्न र भारतलाई सन्तुलनमा राख्न चाहन्छन् । मोदी सरकार आएपछि भारतले साम्राज्यवादको सेवामा आत्म समर्पण गर्दै आएको छ ।

यसरी नेपालको विद्यमान सरकारसहित संम्प्रभुता र राष्ट्रियतामा गम्भीर खतरा पैदा भएको छ । कम्युनिस्ट पार्टीको विभाजनले साम्राज्यवादी स्वार्थलाई सेवा पुग्ने निश्चित छ । त्यत्तिकै खतरा प्रचण्डको सम्भावित (भन्ने गरिएको) आत्मसमर्पण वा बिघटनमा पनि देखिन्छ । यो बाह्य र आन्तरिक परिस्थितिको साथमा हामीले आन्तरिक राजनीतिलाई आकलन गर्नु आवश्यक छ ।

बिगतका पार्टी बिभाजनको इतिहास हेर्ने हो भने त्यसमा एउटा कुराले निरन्तरता पाएको छ । कमरेड पुष्पलाल र कमरेड निर्मल लामा बाहेक सबै नेतृत्वले आफ्नो स्थितिमा प्रतिकुलता पैदा भ‌एसँगै पार्टी फुटाउने काम भ‌एका छन् । रायमाझीले यसको शुरुवात गरेपछि कमरेड तुलसी लालले पार्टीलाई अकर्मण्य पारेर गुट चलाएर बस्नुभयो ।

चालिस र बयालिसको दुवै फुटको स्थितिमा कमरेड मोहनबिक्रम नै डिफ्याक्टो नेतृत्वमा नै हुनुहुन्थ्यो र दुवै स्थितिमा उहाँमाथि चुनौति देखा परेका थिए । कमरेड प्रचण्डले त लामाजीले नभ‌एर आफूले पार्टी फुटाएको स्वीकार गर्ने गरेको पाइन्छ । एकता केन्द्र मसालको फुटेको समयमा पनि कमरेड मोहन बिक्रम नेतृत्वमा हुनुहुन्थ्यो र कमरेड रामसिंहले गोरखपुरको गुट भेला छोडेर हिडेपछि उहाँको पोजिसनमा प्राविधिक र नैतिक चुनौति देखिएको थियो ।

कमरेड वामदेव पनि पार्टी सत्ताको उपयोग गर्दै माले फुटाएर एमालेसँग एकतामा आउनुभएको थियो । यस्ता उदाहरण अन्यत्र पनि देखिन्छन् । यसरी प्रत्येक विभाजन पछि शक्ति कमजोर हुने गरेको तथा देश र जनताले क्षति व्यहोरेको पाइन्छ । यसरी हेर्दा यसपटक पार्टी बिभाजनको श्रेय कमरेड ओलीको पक्षमा जाने देखिन्छ ।

पार्टी भित्र चुनौतीहरुको सामना गर्ने दायित्वमा उहाँ नै हुनुहुन्छ र आफूले चाहेजसरी सरकार चलाउन चुनौती देखा परेको छ । यस्तै, अवस्थामा अथोरिटी जोगाउन पार्टी फोडेका धेरै उदाहरण छन् । यसको अर्थ केन्द्रमा कमरेड प्रचण्ड पक्षधरहरुले पनि उहाँलाई फुटको लागि दबाव नदिएको स्थिति भने होइन ।

सबै प्रकारका पीडा र अपमान सहेर पनि एकतालाई जोगाउन मेहनत गरेको इतिहास नेपाली कम्युनिस्ट आन्दोलनमा कमरेड पुष्पलाल र कमरेड निर्मल लामासँग मात्रै छ भन्न सकिन्छ । आजको सन्दर्भमा हामीले ईतिहासको शिक्षा लिनु पनि आवश्यक हुन्छ होला ।

यतिबेला पार्टी बिभाजनको बेडा जसले उठाए पनि देश र जनताको हितविरुद्धको कदम हुनेछ । अग्रगामी एजेण्डाको सफल कार्यान्वयनको स्पष्ट सुनिश्चितता र तत्कालै कार्यान्वयनको आरम्भ विना कसैले बिभाजनको औचित्य पुष्टि गर्न सक्ने छैन । एकीकृत अवस्थामा सम्भव नभ‌एको कुरा बिभाजनमा सम्भव हुने छैन, जगजाहेर नै छ ।

नेपाली कम्युनिस्ट आन्दोलन लामो र जटिल पृथक मोडमा प्रवेश गरेको छ । साम्राज्यवादको बदलिँदो चरित्र बित्तिय पूजिवादको वढ्दो प्रभाव र राष्ट्रिय पूँजीको चारित्रिक परिवर्तन रोजगारीका अवसरको रुपमा परिवर्तन बढ्दो बेरोजगारी, श्रमिक बर्गको स्थानान्तरण, बहुराष्ट्रिय पूँजीको बढोत्तरी र‌ अन्तरसाम्राज्यवादी अन्तरबिरोधमा परिवर्तन यस्ता कारण हुन्, जसले क्रान्तीका अधुरा कार्यभार र पुरा गर्ने विधिमा नै फरक ढंगले सोच्न आवश्यक हुन्छ ।

संविधान घोषणासँगै बुर्जुवा जनवादको लागि हुने संघर्षको चरित्र जुझारु र क्रान्तिकारी रहेन । अब क्रान्तीकारी आन्दोलनका नारा र स्वरुप निर्क्योल नगरी अगाडि बढ्न सम्भव छैन । हामी यो काम जति ढिलो गर्छौं, त्यति नै सुधारवादी अर्थवादी आन्दोलनले स्पेस भेटाइरहने छ, जनताको बीचको काम दिग्भ्रमित भैरहने छ । यसले पार्टीहरुको आन्तरिक गत्यावरोधको स्थिति बनिरहने र अवसरवादले मौका पाइरहने छ ।

यसकारण महाधीवेशन र यसको वरिपरि चल्ने राजनीतिक सैद्धान्तिक बहसले राजनीतिक जीवन प्रवाह गर्नेछ । सुस्पष्ट कार्यक्रम नीति दिशा र योजनाको अभावमा थोपिने फुटको अर्थ अवसरवाद बाहेक केही होइन । तर अवसर र लाभको लागि हुने बाँडफाँड र चोचोमोचोको एकता पनि कागलाई बेल पाकेसरह नै हो ।

त्यसैले फुट वा एकताको नाममा तरंगित हुने भन्दा बैचारिक राजनीतिक बहसको शिलान्यास गरौं । यसो भनिरहँदा कतिपय तरंगित मित्रहरुको स्वप्न भङ्ग हुन सक्छ, तर हामीले तपाईंहरुको कुखुरा जुधाइ होइन, देश, जनता र भावि आन्दोलनको चिन्ता र चासो राखेका छौं ।


प्रतिक्रिया दिनुहोस्