आफ्नो बेइज्जत भएको भन्दै काठमाडौ‌ं महानगरले रोक्यो खुलामञ्चको नि:शुल्क खाना अभियान

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ५७


काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गरिएको बन्दाबन्दीपछि दैनिक गुजारा गर्नेहरुलाई समस्या परेको भन्दै खुल्लामञ्चमा खाना खुवाउने अभियान नै चलेको थियो ।

तर यो अभियानलाई काठमाडौं महानगरपालिकाले रोकेको छ ।

सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो ।

महानगरपालिकाले पुनः सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एकजना अभियन्ता बद्रीप्रसाद ढुंगानाले बताए ।

सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ ।

महानगरपालिकाले पनि सार्वजनिक स्थलमा खाना वितरण गर्न रोक लगाएको बताएको छ । हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको तर्क छ ।

सार्वजनिकस्थलमा फोहोरसमेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस्