ओलीजीले अलग होऔं भने, पार्टी एकता संकटमा परेको छ– प्रचण्ड

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १ : २१


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकता संकटमा परेको बताएका छन् ।

आइतबार बिहान आफ्नो निजी निवासमा ६ जना सचिवालय सदस्यसँग छलफल गर्दै प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सँगै जान नसकिने भन्दै अलग अलग जाने प्रस्ताव गरेको ब्रिफिङ गरे ।

प्रधानमन्त्री ओलीले शनिबार भएको आफूसँगको भेटमा ‘अब सँगै बस्न सकिन्न, अलग–अलग जाऔं, मैले निर्णय गरिसकेँ, तपाईंहरु पनि गर्नुहोस्’ भनेको प्रचण्डले सचिवालय सदस्यलाई ब्रिफिङ गरेका छन् ।

११ दिन लामो संवादहीनता तोड्दै शनिबार प्रचण्ड ओलीसँग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

बालुवाटारमा ओलीसँग भएको वार्ताको भोलिपल्ट (आइतबार) बिहान वरिष्ठ नेता माधव नेपालसहित वरिष्ठ नेतालाई बोलाएका थिए ।

आइतबार बिहान प्रचण्डले वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई छलफलका लागि बोलाएका थिए ।

ओली र प्रचण्डबीच शनिबार भएको भेटवार्ता शुखद नभएपछि पार्टी महासचिव विष्णु पौडेलले शनिबार सामाजिक सञ्जालमार्फत पार्टी एकता जोगाउन नेताहरुलाई आग्रह गरेका थिए ।

यसअघि पनि पार्टी फुटकै अवस्थासम्म चुलिएको नेकपाका आन्तरिक विवाद गत भदौ २३ गते सम्पन्न स्थायी कमिटी बैठकले समाधान गरेको बताइएको थियो ।

तर, भदौ २६ को स्थायी कमिटी र पछि सचिवालय बैठकले गरेको निर्णयविपरित प्रधानमन्त्री ओलीले ‘एकलौटी गर्न थालेको’ भन्दै प्रचण्ड–नेपाल पक्ष असन्तुष्ट बनेको थियो ।


प्रतिक्रिया दिनुहोस्