के नेकपा फुटको नजिक पुगेको हो ?

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १० : ३२


काठमाडौं । कर्णाली प्रदेशमा देखिएको विवादका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा गम्भीर संकटमा पुगेको छ ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर दुई मन्त्रीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपाल समूहकालाई मन्त्री बनाउने तयारी गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो ।

पछिल्लो विवादले पार्टी फुट नजिक पुगेको त होइन भन्दै नेता कार्यकर्ता चिन्तित बनेका छन् ।

नेकपा महासचि विष्णु पौडेल स्वयंले पार्टीमा गम्भीर संकट देखापरेको भन्दै पार्टी एकता रक्षाका लागि योगदान गर्न नेता कार्यकर्तासँग आग्रह गरेका छन् ।

उनले भनेका छन्,‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।’

सत्ता रुढ दलमा पछिल्लो समय स्थायी कमिटीको बैठकले गरेको निर्णय प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले नमानेको अर्का अध्यक्ष प्रचण्ड पक्षको अरोप छ ।

मन्त्रिपरिषद् हेरेफेर, राजदूत नियुक्ति, लगायका विषयमा पार्टीमा छलफल नभएको र आफूलाई कर्नरमा पारिएको भन्दै प्रचण्ड असन्तुष्ट बनेका छन् ।

पछिल्लो पटक कर्णाली प्रदेशमा ओली पक्षका सांसदहरुले प्रचण्ड पक्षका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि विवाद चुलिएको हो ।

नेता माधव नेपाल पक्ष पछि हटेपछि मुख्यमन्त्रीको पद त जोगिएको छ तर त्यसपछि विकसित घटना क्रममा पार्टी विभाजन तर्फ उन्मुख भएको देखिएको छ।

मुख्यमन्त्री शाहीले आफ्ना पक्षका दुई मन्त्रीलाई हटाउन लागेपछि ओली पक्षले आफ्नो स्टेप चाल्ने चेतावनी दिएको थियो ।

चेतावनीपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन रोकिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनका कारण विग्रह बढ्ने खतरा देखेपछि महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई फोन गरेर तत्काल रोक्न आग्रह गरेका थिए ।

स्रोतका अनुसार ओलीको चेतावनीपछि खुमलटारमा बिहान ११ बजे प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसहित नेताहरूको गोप्य बैठक बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्