दुई जनालाई बन्धक बनाएर अन्य २ बालिकामाथि सामूहिक बलात्कार

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १० : ०८


टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिकासँग जोडिएको जानकी गाउँपालिका–५ अमौरीमा दुई बालिका बलात्कृत भएका छन् ।

गाउँमा दशैंको चहलपहल भएको समयमा कात्तिक ८ गते अष्टमीका दिन १३ र १४ वर्षका बालिका बतात्कृत भएका हुन् । गाउँमा नाचगानसहितको रमाइलो हेर्न गएका दुई बालिकामाथि बेलुका ९ बजेतिर सामूहिक बलात्कार भएको थियो ।

जानकीका चार बालिका आफ्नै गाउँको अर्को टोलमा नाचगान हेरेर फर्कंदै थिए । ९ जनाको समूहमा रहेका केटाहरूले उनीहरूलाई घेरा हाले । एक बालिका घेरा हाल्ने केटामध्ये एक जनाको साथीकी बहिनी थिइन् ।

उनलाई साथीकी बहिनी भनेर छाडे । अर्कीलाई पनि चिनेकै भएर केही गरेनन् । दुई जनालाई बन्धक बनाए, सामान्य कुटपिट गरे । अरू दुई बालिकालाई भने खेतमा रहेको परालको थुप्रोमा लगी पालैपालो बलात्कार गरे ।

आफ्ना साथीलाई खेतमा लगेर बलात्कार गरिरहेको देखेर बन्धक रहेकी एक बालिकाले घरमा एसएमएसमार्फत घटनाको जानकारी गराइन् । परिवारले वडाध्यक्षलाई खबर गरे ।

वडाध्यक्षसहितको टोलीले घटनास्थलबाट उनीहरूको उद्धार गर्‍यो । टोली घटनास्थल पुगेपछि सामूहिक बलात्कारमा संलग्न युवा फरार भएका थिए । तर बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई घटनाकै राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी–५ का १८ वर्षीय कृष्ण नगरकोटी र २२ वर्षीय मनोज चौधरी तथा लम्कीचुहा नगरपालिका–१ भुरुवाका १९ वर्षीय धीरेन्द्र विष्ट, १९ वर्षीय नरेश चौधरी, १८ वर्षीय रमेश शाही, १८ वर्षीय सत्यम रावल, २० वर्षीय रामबहादुर चौधरी र २१ वर्षीय महेश चौधरी छन् ।

१८ वर्षीय चन्द्र शाही फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन घिमिरेले बताए । घटनास्थलबाट पीडितलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

सामूहिक बलात्कार घटनाको कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । उनका अनुसार घटनास्थलको मुचुल्का तयार पारिएको र आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ ।

फरार एक जनाको खोजी भइरहेको छ । ८ जना अभियुक्तले घटनामा संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्