भिटेनले माफी माग्दै भने– आपत्तिजनक शब्द हटाएर संशोधित ‘पारा’ ल्याउछौं

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  २ : ४७


काठमाडौं । र्‍यापर समिर घिसिङ (भिटेन)ले आफ्नो नयाँ र्‍याप ‘पारा’मा प्रयोग गरिएका आपत्तिजन शब्दबाट पर्न गएको असुविधाप्रति क्षमा याचना गरेका छन् । साथै, त्यस्ता आपत्तिजनक शब्दहरु हटाएर चाँडै संशोधित र्‍याप सार्वजनिक गरिने पनि बताएका छन् ।

शनिबार आफ्नो आधिकारिक फेसबूक पेजमार्फत विज्ञप्ती सार्वजनिक गर्दै भिटेनले नयाँ गीत (र्‍याप)बाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएको भन्दै आपत्तिजनक शब्द हटाएर संशोधन गरिएको उल्लेख गरेका छन् ।

संशोधित र्‍याप छिट्टै युट्युब च्यानलमार्फत सार्वजनिक गरिने पनि उनको भनाइ छ ।

‘पारा शीर्षकमा हाम्रो युट्युब च्यानलमार्फत प्रकाशिक (प्रसारित) म्युजिक भिडियोले कतिपय निकायप्रति ठेस पुग्न गएको गुनासो आएकाले उक्त म्युजिक भिडियोलाई मिति २०७७ साल कात्तिक १३ गतेका दिनदेखि नै हाम्रो आधिकारिक च्यानल ‘भिटेन म्यूजिक’बाट हटाइ आपत्तिजनक शब्दहरुलाई संशोधन गरिएको अवगत गराउँदै चाँडै संशोधित म्युजिक भिडियोलाई प्रकाशित गरिने जानकारी गराउँदछौं,’ भिटेनको फेसबूकमार्फत सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ ।

भिटेनको फेसबुक पेजबाट जारी गरिएको विज्ञप्तीमा अगाडि भनिएको छ, ‘सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं ।’

युट्युबमार्फत सार्वजनिक गरिएको भिटेनको नयाँ र्‍यापमा समावेश कतिपय शब्दको विषयलाई लिएर प्रहरी प्रधान कार्यालयले अनुसन्धान अगाडि बढाउन साईबर ब्यूरोलाई निर्देशन दिएको थियो । प्रहरीले भिटेनको नयाँ र्‍यापको सम्बन्धमा अनुसन्धान अगाडि बढाइएको बताएको थियो ।

‘पारा’ नामक भिटेनका नयाँ र्‍यापमा प्रहरीलाई लक्षित गरी केही ‘आपत्तिजनक’ शब्दहरु प्रयोग गरिएको छ । यस्तै, महिलाका सन्दर्भमा पनि प्रयोग गरिएका केही शब्दप्रति अहिले सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्