आईपीएल–२०२० : दिल्लीलाई ९ विकेटले हराउँदै मुम्बईले तय गर्‍यो क्वालिफायरको यात्रा

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १ : ४९


काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ ।

दुबईमा शनिबार भएको ५१ औं खेलमा मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो । दिल्लीको यो छैटौं हार हो ।

बलरहरुको उत्कृष्ट प्रदर्शन पछि मुम्बई इन्डियनका ब्याट्सम्यानहरुले दिल्लीले दिएको १११ रनको लक्ष्य १५ औं ओभरमा पुरा गरे ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ११ रनको लक्ष्य मुम्बईले १४ ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा इशान किशनले अविजित रहदै ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

क्विन्टन डी ककले २६ रन जोड्दा सूर्यकुमार यादब १२ रनमा अविजि रहे ।

मुम्बईविरुद्ध दिल्लीका एनरिच नोर्टजेले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर ११० रन मात्रै बनाएको थियो ।

खराब ब्याटिङ गरेको दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक २५ रन जोड्दा ऋषब पन्तले २१ रन बनाए ।

शिम्रन हिटमायरले ११ रन बनाए भने ओपनर पृथ्वी शले १० रन जोडे । रविचन्द्र आश्विनले १२ रन बनाउँदा शिखर धवन सुन्य रनमा आउट भए ।

कागिसो राबडा १२ रनमा आउट हुँदा प्रविन डुबे ७ रनमा अविजित रहे ।

दिल्लीलाई सस्तैमा समेट्ने क्रममा मुम्बईका जस्प्रित बुम्राह र ट्रेन्ट बोल्टले समान ३/३ विकेट लिए । राहुल चाहर र नाथन कल्टरले १/१ विकेट लिए ।

जितसँगै मुम्बईले तालिकाको शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको छ । र, मुम्बई क्वालिफायरमा प्रवेश गरेको छ ।

अन्तिम खेलमा पराजित भएपछि पनि मुम्बई शीर्ष दुईमै रहने छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ । मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ ।

शीर्ष दुईमा रहने टिमले क्वालिफायर खेल्ने छन् । क्वालिफायरको विजेता फाइनल पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छन् ।

मुम्बईसँग पराजित भएपछि दिल्लीको भने प्ले अफ यात्रा कठिन बनेको छ । दिल्लीलाई प्ले अफ पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ ।

दिल्लीले १३ खेलमा १४ अंक जोडेको छ । दिल्ली तेस्रो स्थानमा रहेको छ ।

दिल्लीले लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । बैंगलोरविरुद्ध खेल गुमाएमा दिल्लीको प्ले अफ यात्रा सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्