जनस्वास्थ्य विज्ञको चेतावनी– कोरोना संक्रमित बढ्दै गए काठमाडौंमा ‘विस्फोट’ हुन सक्छ

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १ : ३३


काठमाडौं । कोरोना भाइरस संक्रमणको पछिल्लो दैनिक तथ्याङ्क हेर्दा नेपालमा अझै पनि संक्रमणको दर बढ्ने जनस्वास्थ्य विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

जनस्वास्थ्य विज्ञ डा रवीन्द पाण्डे (समिर)ले परीक्षण निकै कम भएको र संक्रमण दर (प्रतिशत) धेरै भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा एक सन्देश लेख्दै डा पाण्डेले काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर बढेर विस्फोटको अवस्थामा पुगेको पनि बताएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ७९ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिँदा २ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार २ सय ५७ जना अर्थात् ५०.१ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका मात्रै छन् ।

कोरोना संक्रमणको पछिल्लो तथ्याङ्क उल्लेख गर्दै डा पाण्डेले भनेका छन्, परीक्षण निकै कम भयो, संक्रमण प्रतिशत धेरै भयो, काडमाडौं उपत्यकामा विस्फोटको अवस्थामा पुग्यो, मृत्युदर बढ्दै छ, क्वारेन्टाइनमा असुविधाको कारण त्यहाँ बस्ने एकदम न्यून भए, संस्थागत आइसोलेसन प्रभावकारी भएन ।

देशभर हाल ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित छन् । जसमध्ये ३१ हजार ८ जना होम आइसोलेसनमा छन् भने ७ हजार ५ सय ७६ जना मात्रै संस्थागत आइसोलेसनमा छन् ।

जनस्वास्थ्य विज्ञ डा पाण्डेले सानो संख्यामा मात्रै संक्रमितहरु होम आइसोलेसन बाहिर हुँदा अस्पतालमा बेड अपुग भएको उल्लेख गर्दै प्रश्न गरेका छन्, ‘९६ जना आईसीयूमा तथा ६९ जना भेन्टिलेटरमा हुँदा कसरी आईसीयू प्याक भए ? जब कि सरकारले २ हजार ६ सय आईसीयू र ९०० भेन्टिलेटर छन् भनेको छ ।’

संक्रमण दरको तथ्याङ्कबारे विष्लेषण गर्दै कोरोना भाइरस नियन्त्रणका लागि तत्काल चाल्नुपर्ने कदमबारे पनि डा पाण्डेले सुझाव दिएका छन् ।

उनका सुझाव यस्ता छन्

– परीक्षण दर जतिसक्यो धेरै बढाउनुपर्छ ।

– संक्रमितलाई प्रभावकारी ठाउँमा निगरानी गरेर आइसोलेसनमा राख्नुपर्छ ।

– सुविधाजनक आइसोलेसन केन्द्र हरेक वडामा निर्माण गर्नुपर्दछ ।

– काठमाडौं उपत्याकामा जनस्वास्थ्यका मापदण्डको अनुगमन तथा निगरानीमा कडाइ गर्नुपर्छ ।

– अस्पतालमा दैनिक बेड अडिट गर्नुपर्छ । खाली भएर पनि बेड लुकाउने अस्पताललाई कारबाही गर्नुपर्छ ।

– ३ वटा ठूला मेडिकल कलेज, ३ वटा ठूला सरकारी अस्पताल र ३ वटा ठूला प्राइभेट अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गर्नुपर्छ । उपत्यका बाहिर पनि संक्रमितको संख्या अनुसार यस्तै ब्यबस्था गर्नु पर्दछ ।

– सेनालाई साधन / स्रोत र स्थान दिएर प्रिफ्याबका अस्थायी अस्पताल बिभिन्न ठाउँमा निर्माण गर्नुपर्छ ।

– हरेक बेडलाई अक्सिजन बेडको रुपमा बिकास गर्नुपर्छ ।

– हरेक अस्पतालमा अक्सिजन प्लान्ट अनिबार्य गर्नुपर्छ ।

– हामी आम नागरिक थप अनुशाशित र सरकार थप जिम्मेवार हुनुपर्छ ।

 

पछिल्लो २४ घन्टाको तथ्यांकले के संकेत गर्छ ?
..
पिसिआर टेस्ट – ९२७९
संक्रमित – २५०६
संक्रमण प्रतिशत – २७ %
मृत्यु १७…

Posted by Rabindra Sameer on Saturday, October 31, 2020


प्रतिक्रिया दिनुहोस्