भेन्टिलेटरमा उपचार गराइरहेकी युवतीमाथि अस्पतालभित्रै सामूहिक बलात्कार

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १२ : ३१


नयाँ दिल्ली । भारतको राजधानी दिल्ली नजिकै गुडगाउँस्थित फोर्टिस अस्पतालमा जीवन बचाउन संघर्ष गरिरहेकी एक युवतीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।

श्वासप्रश्वासको समस्याका कारण फोर्टिस अस्पताल भर्ना भएकी २१ वर्षीया युवतीमाथि अक्टोबर २२ देखि २७ तारिखका बीच सामूहिक बलात्कार भएको हो ।

श्वास फेर्न कठिन भएपछि २१ अक्टोबरमा ती युवतीलाई फोर्टिस अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पतालले उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको थियो ।

बेहोस् अवस्थामा भेन्टिलेटरमा उपचाररत रहकै अवस्थामा ती युवतीमाथि बलात्कार भएको हो । होस खुलेपछि युवतीले टुटेफुटेको अवाजमा अक्टोबर २८ तारिखका दिन  आफूमाथि बलात्कार भएको कुरा आफ्ना बुवालाई बताएकी हुन् ।

पीडितका बुवाले छोरीमाथि बलात्कार भएको उजुरी दिएपछि स्थानीय प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ ।

अस्पतालकै कर्मचारीको संलग्नतामा युवतीमाथि बलात्कार भएको हुनसक्ने प्रहरीको आशंका छ ।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये १ जना व्यक्तिको नाम ‘बिकास’ भएको बताइएको छ ।

पक्राउ परेकाहरुसँग प्रहरीले बिहीबार ३ घण्टासम्म सोधपुछ गरेको थियो ।

फोर्टिस अस्पतालका अधिकारीहरुले भने उपचाररत बिरामी युवतीमाथि बलात्कार भएको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।


तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्