कम्युनिस्ट बाहेकले पनि पढ्नैपर्ने पुस्तक–  ‘कम्युनिस्ट स्कुल’

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


प्रसङ्ग प्रवेश

‘जनताको मुक्तिका निम्ति आफ्नो जीवन र आकांक्षाको बलिदानी गरेका; न्याय, समानता र स्वतन्त्रताका पक्षमा शहादत प्राप्त गर्ने ती महान् शहीदहरू, सम्पूर्ण बेपत्ता योद्धाहरू एवं चुनौतीका पहाड बोकेर समाजवादको सपनाका निम्ति बाँचिरहेका ती महान् घाइते योद्धाहरूप्रति समर्पित’ पुस्तक ‘कम्युनिस्ट स्कुल। कम्युनिस्ट आन्दोलन र साम्यवादी विश्व–दृष्टिकोण निर्माणका सवाललाई लिएर विभिन्न पाटा र पक्षबाट विवेचना गरी मार्क्सवादी दर्शन र ज्ञान सिद्धान्तको शास्त्रीय परम्परा र त्यसका पद्धति बारेको यो कोसेली । युवा लेखक मनहरि तिमिल्सिनाले लेख्नु भएको ‘कम्युनिस्ट स्कुल’ नामक पुस्तक परिचर्चा गर्ने जमर्को गरे ।

मेलोमेसो

कोरोनाले अत्ताएको, सताएको र विश्व जगतलाई नै त्रसित तुल्याइरहेको बेला आफु बसेकै ठाउँमा यो पुस्तक हात पर्‍यो । मार्क्सवाद खडेरी नै लागेको यो समयमा, कोरोनाको कहर झेल्नपरेको बेला यो पुस्तक पाउनुले शीतलताको अनुभूति दिलायो नै । त्यसमा पनि एउटा युवाले देखाएको जोस, होस र सक्रियताको भट्टीबाट निस्किएको यो पुस्तक । निश्चय नै थप आयाम बोकेर आएको होला जस्तो लाग्ने नै भयो । पुस्तकका आफ्ना आफ्नै क्षेत्र र विषय हुन्छन् । यो पुस्तक पनि दर्शन शास्त्रसँग सम्बद्ध पुस्तक हो । त्यसमा पनि मार्क्सवादी दर्शनका बारेमा लेखिएको यो पुस्तक, ‘कम्युनिस्ट स्कुल’।

पुस्तकको प्रयास

जीवन र जगलाई हेर्ने दृष्टिकोणको पुस्तक । चिन्तनका चालकहरू र तिनका नियमहरू चिन्न, जान्न र बुझ्न सजिलो होस भनी लेखिएको पुस्तक । त्यति मात्र होइन, कम्युनिस्ट राजनीतिमा पनि गुटका माध्यमबाट ‘हुन्छबहादुर संस्कृतिको विकास गर्ने होड चलिरहेको मौजुदा समयमा आफूले आफैलाई पहिचान गर्ने कला सिकाउने एउटा साधन बनेर आएको यो पुस्तक । कम्युनिस्ट आन्दोलनका विगत र वर्तमान समेट्दै वैज्ञानिक समाजवाद प्राप्तिबाट साम्यवादमा पुग्ने तरिका बताउन पुस्तकले भरसक प्रयास गरेको छ ।

भूमिका बारे

सर्वहारा र श्रमजीवी वर्गको वैचारिक दर्शनको रूपमा मार्क्सवादलाई चिनाउन खोजेको ‘कम्युनिस्ट स्कुल’ नामक यो पुस्तकको भूमिका डिलाराम आचार्यले लेख्नु भएको छ । भूमिका लेखन क्रममा उहाँले“देशमा युगान्तकारी परिवर्तन हुनु, उक्त परिवर्तनकारी आन्दोलनको अगुवाइ मुख्यतः कम्युनिस्ट पार्टीले गर्नु नयाँ संविधान निर्माण भइसके पछिको पहिलो निर्वाचनमा कम्युनिस्ट पार्टीलाई दुई तिहाइ जनताले विश्वासको मत जाहेर गर्नु, यी सबै कुरा आफैमा ठुला र युगान्तकारी परिवर्तन हुन् ।”

पुस्तकको अगाडि लेखक स्वयम्ले आफ्नो भनाइ राख्ने क्रममा  ‘वैज्ञानिक सिद्धान्तलाई क्रान्तिकारी व्यवहारमा रूपान्तरण गरेर मात्र, मार्क्सवादी ध्येय प्राप्त गर्न सकिन्छ । चिन्तन र कार्यशैलीको रूपमा अभिव्यक्त भएको सामाजिक व्यवहारले मात्र जनतालाई कम्युनिस्ट समाजको प्रारम्भिक चरणबाट उन्नत चरण सम्म लैजान्छ’ भन्ने धारणा राख्नु भएको छ ।

खण्ड खण्ड

पाँच वटा खण्डमा विभाजन गरेर तयार परिएको उक्त पुस्तकको पहिलो खण्ड मा दर्शन शास्त्र बारे उल्लेख गरिएको छ । दोस्रो खण्ड मा मार्क्सवादी राजनीति अर्थशास्त्र छ भने, खण्ड मा वैज्ञानिक समाजवाद, खण्ड मा इतिहास र खण्ड मा विज्ञान र प्रविधि गरी विषयवस्तुहरू प्रस्तुत गरिएको छ ।

दर्शनशास्त्रका उपशीर्षक

दर्शनशास्त्र अन्तर्गत दर्शन र मार्क्सवादी दर्शन गरी तेइस वटा उपशीर्षक छुट्याइएको छ । जसलाई दुई भाग विभाजन गरिएको छ । एकमा दर्शनको सामान्य परिचय, पद्धति, सिद्धान्त, संरचना, वर्गीय चरित्र र स्वरूप बारे उल्लेख गरिएको छ ।

अर्को भागमा मार्क्सवादी दर्शनको उदय, यसका विकास, तीन संघटक अङ्ग, द्वन्द्वात्मक भौतिकवाद, यसका नियम, प्रवर्गहरू, ज्ञान सिद्धान्त, ऐतिहासिक भौतिकवाद र त्यसका नियमहरू, वर्ग संघर्ष, राज्यको उत्पत्ति र विकास, मार्क्सवादको रक्षा, प्रयोग र विकास, अन्तर्विरोधको नियम भौतिक द्वन्द्ववाद र विज्ञानका साथै यसका प्रवृत्ति र संघर्ष जस्ता विषय वस्तुलाई ९७ पृष्ट भित्र समेटी सरल तरिकाले पृथक् रूपमा बुझाउन प्रयास गरिएको छ ।

अर्थशास्त्र भित्रका वस्तु

मार्क्सवादी राजनीतिक अर्थशास्त्रको पनि २३ वटै उपशीर्षक राखी ७३ पृष्ट भित्र समेटिएको छ । यसमा अर्थशास्त्रको परिचय, परिभाषा साथै उत्पादन, मूल्य र श्रमको सिद्धान्त, उत्पादन पद्धति, यसका सिद्धान्त, आधार र अधिसंरचना, पुँजीवादी अर्थतन्त्र, मुद्राको पुँजीमा रूपान्तरण, मूल्यको नियम, अतिरिक्त मूल्यको सिद्धान्त जस्ता विषयहरू छन् ।

यसका साथै एकाधिकार पुँजीवाद र साम्राज्यवादको उदय, वित्तीय पुँजीवाद र भूमण्डलीकृत साम्राज्यवाद, उदारवाद र पुँजीवादी सङ्कटका साथै समाजवादी अर्थ व्यवस्था, आर्थिक प्रणाली लगायत आजको पुँजीवादी विश्व सङ्कट जस्ता २३ वटा उपशीर्षकहरूले मार्क्सवादी अर्थशास्त्रलाई सरल तरिकाबाट र व्यवहारिक रूपले बुझाउन खोजिएको पाइन्छ ।

वैज्ञानिक समाजवाद

तेस्रो खण्डको रूपमा रहेको वैज्ञानिक समाजवादमा १८वटा उपशीर्षकलाई समावेश गरी ८१ पृष्ट भित्र समेटेको छ । जसमा वैज्ञानिक समाजवादका विशेषता, राज्यसत्ता, राज्यका काम, कम्युनिस्ट घोषणापत्र, क्रान्तिका सिद्धान्त र मोडल, अन्तर्राष्ट्रिय सर्वहारावाद, मार्ग निर्देशक सिद्धान्त, रणनीति, कार्यदिशा, कार्यनीति लगायतका विषयहरू छन् ।

यस अन्तर्गत समावेश गरिएका अन्य विषयहरूमा सङ्घीयता र मार्क्सवादी दृष्टिकोण, वैज्ञानिक साम्यवाद, कम्युनिस्ट पार्टी, विश्व प्रसिद्ध कम्युनिस्ट नेताहरू, नेतृत्व, सङ्गठन, लेनिनवादी सङ्गठनात्मक सिद्धान्त, असल कम्युनिस्ट बारे, धर्म र मार्क्सवादका साथै उत्तर–आधुनिकतावाद जस्ता विषयहरू समेटिएको छ ।

इतिहास खण्ड

इतिहास खण्डमा विश्व कम्युनिस्ट आन्दोलन र त्यसका मुख्य मुख्य घटना जस्तो, कम्युनिस्ट लिग, पेरीकम्युन, पहिलो, दोस्रो र तेस्रो अन्तर्राष्ट्रिय, रुसी समाजवादी क्रान्ति, चिनिया नयाँ जनवादी क्रान्ति, क्युबाको क्रान्ति, नक्सालवादी आन्दोलन, भियतनाम, पेरु, कोरियाका क्रान्तिका साथै सोभियत सङ्घ विघटन देखि आज सम्मको इतिहास बारे सहज विवेचना गरिएको छ ।

यसका साथ यस खण्डमा पनि २३ वटै उपशीर्षक रहेका छन् । जसमा, नेपालको कम्युनिस्ट आन्दोलन, यसको विभाजन र एकीकरण लगायत जनआन्दोलन, संविधान निर्माण, जनयुद्ध, नेकपा एकता र विजय अभियानका साथै नेकपाको गौरवमय ७० वर्षको इतिहासका बारेमा चर्चा परिचर्चा गरिएको छ ।

विज्ञान र प्रविधि

अन्तिम खण्डको रूपमा विज्ञान र प्रविधि छ । यसमा विज्ञानको परिचय, ब्रह्माण्ड विज्ञान, कपर्निकसको सिद्धान्त,चार्ल्स डार्विनको जीवन विज्ञानको सिद्धान्त, हेल्होज र उर्जा संरक्षणको सिद्धान्त, न्यूट्रन र गुरुत्वाकर्षण, अल्वर्ट आइन्स्टाइन र सापेक्षतावाद, स्टेफिन हकिङ र ब्याक होल, क्वान्टम सिद्धान्त, परिस्थिति प्रणाली, कृत्रिम बौद्धिकतावादका साथै विज्ञान र मार्क्सवादको सम्बन्ध जस्ता कुराहरू समेटिएका छन् ।

जीवन उपयोगी

पुस्तक जीवन उपयोगी छ । जीवनलाई चिन्न जान्न र बुझ्नका लागि यो पुस्तक हरेकका लागि सहयोग सिद्ध छ । दर्शन जस्तो गहन विषय वस्तु पनि सरल र मिहिन तरिकाले प्रस्तुत गरिएको छ। जीवनमा मानिसले प्रकृतिसँग संघर्ष गर्न सिक्यो । त्यो सङ्घर्षले उसलाई थप विकसित र उत्साहित तुल्यायो । उत्साहले उसका थप आवस्यकता पूर्ति र थप सोचहरु पैदा हुन पुग्यो । सोचलाई व्यवहार र व्यवहारलाई सत्यमा रूपान्तरण गर्ने आँट जाँगर र भरोसा पैदा भयो । जसले गर्दा मानिस ज्ञान, बुद्धि र क्षमता विकास गर्न सक्यो ।

समय अनुसार विकासले जन्माइरहेका आफ्ना आवश्यकताहरू पुरा पनि गर्दै गयो । जसका कारण मानव जीवन सहज बन्न पुग्यो । बस्नका लागि घर, खानका लागि अन्न, काम गर्नका लागि साधन जस्ता विभिन्न प्रविधिहरू उत्पादन भयो । अब मानिसलाई के खाने, कसरी बस्ने र के गर्ने भन्ने कुनै चिन्ता नै भएन । गाँस, बास र कपासको व्यवस्था गर्न मानिस सक्षम बन्यो ।

भौतिक वस्तु र सोच

भौतिक वस्तुको विकाससँगै मानिसमा सोचाइको विकासले उसले सधैँ देखिरहेको घामको बारेमा, चन्द्रमा र तारको बारेमा, यसै गरी दिन र रात, ऋतुहरूको अदलीबदली, यसको निरन्तरता र निश्चित चक्र जस्ता कुरा पत्ता लगायो । यो किन भइरहेछ ? कसरी भइरहेछ ? हामी भन्दा माथि के छ ? हामी भन्दा टाढा के छ ? हामी कहाँ छौ ? किन छौ  ? कसरी छौ ? यस्ता हजारौँ सवालको खोजी गर्न थाल्यो । मानिसमा पनि फरक फरक क्षमता हुँदो रहेछ भन्ने कुरा सामूहिक रूपमा बस्न र काम गर्न थाले पछि थाहा पायो ।

जसरी प्रकृतिको स्वभाव फरक छ, त्यसै गरी हरेक चिज वा वस्तुको आकार, गुण, स्वभाव र संरचना फरक हुँदो रहेछ । यो संसार फरक फरक तत्त्वको एकताबाट बनेको रहेछ भन्ने थाहा पायो । यसरी आफ्नै जीवन व्यवहारबाट मानिसमा ज्ञानको उदय भयो र दर्शनको उत्पत्ति हुन पुग्यो ।

स्वतन्त्र खोज

मानिसले रातको समय आकाश नियाल्यो ! आकाशमा टिलपिल तारागण । कुनै साना, कुनै ठुला, कुनै चम्केका, कुनै मलिन, कुनै एकटकले निश्चल भएर बसे जस्तो, कुनै गुजमुज्ज छन्, कुनै छुट्टा छुट्टै छन् ।

यसले मानिसका मन भित्र थुप्रो कौतुहलता जन्म दियो । त्यसलाई हेर्ने, चिन्ने, जान्ने र बुझ्ने उपायको खोजीमा लाग्न थाल्यो । मानिसले मानिस भित्रको चाहनामा पनि विविधता पायो । हरेकमा फरक फरकपनमा छिपेको शुन्दरता देख्यो । आफ्नो स्वभाव रुचि अनुसारका क्षेत्रमा मानिस आकर्षित हुन थाल्यो । त्यस बेला सम्म कुनै सामाजिक बोझ थुपारिने वातावरण थिएन । मानिसहरू स्वतन्त्र रूपले आफ्नो स्वविवेकलाई प्रयोग गर्न पाएका थिए । जसले गर्दा दर्शनको क्षेत्रमा नयाँ खोज अनुसन्धान हुन पुग्यो ।

स्वतन्त्र खोजबाट मानिसले थुप्रै ज्ञान प्राप्त गर्‍यो । ज्ञानको अनन्त सागरमा डुबेर वर्तमान भूत र भविष्यको खाका कोर्‍यो । भाषा साहित्यको विकास गरी आफ्ना खोज अनुसन्धान र सोचलाई शुन्दर ढंगले बाहिर ल्याउन सफल भयो । जो जुन क्षेत्रमा लागे उनीहरूले त्यो क्षेत्रको ज्ञानलाई संवृद्ध तुल्याए । आज हामी त्यसलाई शौन्दर्य कलाको रूपमा लिंदै छौ र दर्शनको रूपमा अध्ययन गर्दै छौ ।

समुन्नतिको यात्रा

सुरक्षाका नयाँ उपाय, खेतीपाती र पशुपालनका नयाँ नयाँ तौरतरिका, खानपानमा नयाँ विधि र तरिकाको प्रयोग जस्ता कुराले मानिसलाई धेरै समुन्नत तुल्यायो । यसरी पुस्तकले दर्शनको उत्पतिः तर्क, जिज्ञासा र समष्टिगत चेतना जस्ता तीन आधार वा पक्षहरूबाट भएको हो भनी बुँदागत रूपमा बुझाउन खोजेको छ ।

पुस्तकमा सत्तालाई विश्व र विश्वलाई प्रकृति समाज र मानव जाति भनी स्पष्ट पारिएको छ । वर्गीय पक्ष धरता, सिद्धान्त र पद्धतिलाई दार्शनिक प्रणालीको मूल तीन तत्त्वको रूपमा उल्लेख गरिएको छ ।

पुस्तकले मार्क्सवादी अर्थ शास्त्रको विवेचना गर्रदै आधार र अधिसंरचनाको कुरा उठाएको छ । जसमा आधारलाई उत्पादन पद्धति भनेको छ । जसमा उत्पादक शक्ति, उत्पादनका साधन(श्रमसीप) र उत्पाद सम्बन्ध (उपभोग, स्वामित्व र वितरण) हुन्छ भनेको छ । त्यसै गरी आधेयमा एकातिर संविधान, दर्शन र विचार साथै नीति र नैतिकतालाई मानव जीवन पद्धतिको रूपमा लिएको छ भने यसमा धर्म, आस्था, कला, साहित्य र संस्कृति समावेश गरिएको छ । आधार र आधेयलाई निर्धारित गर्ने कुरामा संविधान, सुरक्षा संयंत्र, अदालत र कर्मचारी तन्त्रले प्रभवित पार्ने कुरा उल्लेख छ ।

दर्शनका मौलिक पक्ष

यस पुस्तकमा दर्शनका मौलिक पक्षका रूपमा केही प्रश्नहरू समावेश गरिएको छ । जसमा, यो संसार कसले बनायो वा कसरी बन्यो ? वस्तु पहिलो हो कि चेतना ? अर्थात् ईश्वरले प्रकृति बनाए कि प्रकृति र मानिसले ईश्वर बनाए ? यो संसार बोध गम्य छ ? अर्थात् के संसारलाई बुझ्न सकिन्छ ? यी विषयवस्तुलाई सहजका साथ उठाउँदै विभिन्न दार्शनिकका दर्शन–सार समेत समेटिएको छ ।

मूलभूत रूपमा यस पुस्तकमा भौतिकवादी दर्शनका केही विशेषता उल्लेख गरिएको छ । जसमा जीवन र जगत निर्माणका पदार्थ र कारण बारे विवेचना छ भने चेतनाको निर्माणमा भौतिक गतिको सर्वोच्चता र प्रकृतिका वस्तुहरू बिचको अन्तर सम्बन्ध दर्साइएको छ । ईश्वरीय कल्पना केवल वर्गीय समाजमा उच्चवर्गको हितका लागि उनीहरूको जुठो पुरोमा पालिएका चिन्तकहरूबाट गरिएको उत्पादन हो भनी पुष्टि गर्ने प्रयास गिरएको छ । र, जीवन र जगतको बोधगम्यताको बारेमा प्रष्ट पारिएको छ ।

‘ब्रह्माण्डको विकास, पृथ्वी र मानिसको उत्पत्ति र विकासका नियमहरूको अध्ययन गर्ने दार्शनिक चिन्तन प्रणालीलाई दर्शन शास्त्रको पद्धति’ भनी पुस्तकमा परिभाषा गरिएको छ । दर्शनको संरचनामा तत्त्व मीमांसा, ज्ञान तथा प्रमाण मीमांसा र आचार मीमांसा अनिवार्य रहनु पर्ने उल्लेख छ ।

द्वन्द्ववादका बारे

पुस्तकमा द्वन्द्ववादका पद्धति र नियम बारे सरल रुपामा प्रस्तुत गर्दै भनिएको छ ‘ब्रह्माण्ड, पृथ्वी, प्रकृति, मानव, जीवन र समाजका हरेक वस्तुहरू दुई परस्पर विराधी तत्त्वहरू मिलेर बनेको हुन्छ । प्रकृतिका हरेक वस्तुहरू द्वन्द्ववादकै नियम अनुसार एकाकार पिरपुरक र स्वचालिछ छन् । र, एउटै वस्तु भित्र दुई विपरीत तत्त्वको एकत्वका कारण मात्र ती वस्तुहरू अस्तित्वमा रहेका छन्’ भनी यसमा उदाहरण सहित व्याख्या गरिएको छ ।

यसै गरी ‘हरेक वस्तुमा सकारात्मक र नकारात्मक दुवै विषय सँगसँगै जोडिएर आउँछन् । कुनै पनि वस्तु निरपेक्ष राम्रो र नराम्रो भन्ने हुँदैन’ भनी उदाहरण दिँदै प्रस्ट पार्न खोजिएको छ । प्रकृतिका सारा वस्तु भित्र आन्तरिक संघर्ष चलिनै रहेको हुन्छ । यस्तो सङ्घर्षले हरेक वस्तुलाई परिवर्तनशील तुल्याएको हुन्छ । पदार्थ भित्र रहेका तत्त्वहरू बिच हुने यस्तो परस्पर संघर्ष र उनीहरू बिचको एकता जहिले पनि स्थायी रहने र एकताको परिणाम भने परिवर्तन उन्मुख रहने हुन्छ । त्यसैले प्रकृतिका सारा वस्तुहरू अस्थिर हुन्छन् र परिवर्तनशील छन् ।

दार्शनिक धार

पुस्तकमा दाशर्निक धार चिनाउन अध्यात्मवाद र  भौतिकवादका आधारमा दर्शनको वर्गीय चरित्र व्याख्या गरिएको छ । ईश्वर प्रथम तत्त्व मान्ने धारलाई ‘वस्तुगत आदर्शवाद र आत्म गत आदर्शवाद गरी दुई भागमा उल्लेख छ । पहिलो भागले ‘विश्व ब्रह्माण्ड र सृष्टिको रचना, मानिस लगायत चराचर जीव जन्तु र सामाजिक व्यवहार समेत ईश्वर वा अन्य कुनै अलौकिक शक्तिले उत्पादन गरेका हुन्’ भन्ने मान्यता राख्दछन् ।  दोस्रो आत्मागत आदर्शवादी धारले भने ‘व्यक्तिगत आत्मा, चेतन, संवेदन, भावना जस्ता मनोगत र संवेगात्मक तत्त्व’लाई प्राथमिकता दिन्छ ।

भौतिकवाद

‘अध्यात्मवाद विरोधी भौतिक तत्त्वलाई प्रमुख र चेतनालाई गौण मान्ने, संसार बोधगम्य छ भनेर स्विकार्ने, देश–काल अनन्त छ, चेतना पदार्थको उपज हो, पदार्थ कहिल्यै पनि नाश हुँदैन’ भन्ने सिद्धान्त भौतिकवाद हो । भौतिकवादले सामाजिक व्यवस्थामा विचार, सत्ता र सामाजिक सत्ता बिच एक रुपकता हुने जनाउँछ । स्फूर्त, यान्त्रिक र द्वन्द्वात्मक गरी भौतिकवादका तीन किसिमका रूपहरू रहेको भनि पुस्तकमा सरल तरिकाले विवेचना गरेको छ ।

क्रान्तिको विज्ञान

मार्क्सवादी दर्शनलाई सामाजिक क्रान्तिको विज्ञान बताउँदै यस दर्शनका पूर्वाधार र तीन संघटक अङ्ग– दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका बारेमा सरल र जीवनोपयोगी तरिकाले विवेचना गरेको छ । यसका साथै ‘पदार्थ र गति,’ ‘दिक र काल’, ‘भाषा र चेतना’को बारे जानकारी गराउँदै ‘विपरीतहरूको एकत्व र सङ्घर्षको नियम’, ‘मात्राबाट गुणमा रूपान्तरणको नियम’ र ‘निषेधको निषेध’ जस्ता द्वन्द्ववादका निमय सरल रूपमा व्याख्या र विवेचना गरिएको छ ।

त्यसै गरी द्वन्द्ववाद र भौतिकवादका प्रवर्गहरूमा, विशिष्ट र सार्वभौम, सारतत्व र दृश्य रूप, कारण र कार्य, आवश्यकता र संयोग, आवश्यकता र स्वतन्त्रता, संभावना र वास्तविकता, सकार र नकार, अंश र सम्पूर्ण(व्यष्टि र समष्टि)का साथै संश्लेषण र विश्लेषण गरी दश वटा प्रवर्गहरूका संक्षिप्त विवेचना गरिएको छ ।

द्वन्द्ववाद र विज्ञान

यस पुस्तकले भौतिक द्वन्द्ववाद र विज्ञानको सम्बन्धको बारेमा पनि सरल र सहज तरिकाले प्रस्तुत गर्ने प्रयास गरेको पाइन्छ । आधुनिक विज्ञानले मानव जीवनमा पारेको प्रभावका बारे विभिन्न विषयगत रूपमा यसमा उठान गरिएको छ । मार्क्सवाद पनि विज्ञान भएकाले आजको विज्ञानको योगदानमा मार्क्सवादको महत्त्वपूर्ण भूमिका छ र विज्ञानलाई अझै पथप्रदर्शन गरिरहेको छ ।

चेतना–ढकनी

मार्क्सवादको सिरानीबाटै आजको भौतिक विज्ञानको चेतना–ढकनी खुलेको भन्दा अनुपयुक्त मान्नु पर्दैन । मार्क्सवादले प्रकृति, जीवन र घटनालाई जस्ताको त्यस्तै चिन्न, जान्न र बुझ्ने तरिका सिकाएको छ । विज्ञान जगतलाई समेत वैज्ञानिक बाटो देखाएको छ । जसका कारण आजको विज्ञान जगत यो अवस्थामा आइपुग्न सकेको छ  भनी दाबी गर्न सक्ने ठाउँ प्रसस्त छ ।

मार्क्सवाद नै विज्ञानको विज्ञान भएर नआएको भए ज्ञानको जगत बरालिन्थ्यो । जसरी बरालिएका आकाशगंगाहरू ब्याक होलमा फस्न पुग्दछन् त्यस्तै हालत विचार जगतको पनि हुन सक्दथ्यो ।

स्वाधीनताको सम्पति

मानिसले मानिसलाई मानिस नै नठान्ने परिवेश सिर्जना भइरहेको सन्दर्भमा मार्क्सले मानवीय मुल्य मान्यतालाई प्रकृतिको पद्धतिसँग तुलना गरेर अध्ययन गर्न सकिने कुरा बताउनु भयो ।

मानवीय मूल्यमान्यता गौण बनिरहेको परिवेशमा मार्क्सले ‘लाओत्सेले प्रतिपादन गरेको ताओवादी दर्शन होस वा डोमेक्रिट्सको परमाणुको सिद्धान्त होस वा डेभिड ह्युगोको अज्ञेय वादी दर्शन, जर्मन दार्शनिक कान्टको एकेश्वरवाद विरोधी तर अज्ञेयवादी दर्शन होस वा डार्विनको विकासवादी सिद्धान्त होस त्यसले मार्क्सवाद निर्माणमा केही न केही टेवा पुर्याउन सक्यो ।

यसै गरी सुकारतको विश्वलाई एक सिद्धान्तको घेरामा राख्न नसकिने दर्शन, प्लेटोको आदर्श राज्यको परिकल्पन, अरस्तुको प्रकृति प्रेम र जीवन र जगतलाई बुझ्न सकिने तर्कहरू, फ्रेडरिक हेगेलस्को द्वन्द्ववाद, फायरखको भौतिकवादका जस्ता दर्शन र सिद्धान्तको मार्क्सले गहिरो अध्ययन गरे ।

यी आधारमा उनले वस्तुगत समाजमा घटेका घटना, इतिहासले दिएका शिक्षा र आफ्नो दूरदर्शी सोचाइ समेतबाट समाजको वस्तुवादी विज्ञान पत्ता लगाउने सन्दर्भमा वैज्ञानिक समाजवादको रूपमा आफ्नो साथी ऐंगेल्सको सहयोगमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शन र सिद्धान्तको जुन प्रतिपादन गरे त्यो आज समग्र मानव जातिको स्वाधीनता र स्वविमानको सम्पति बनेर रहेको छ ।

मानवीय मूल्यको खोजी

ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादीले मानवीय मुल्य र मान्यतालाई खोज्ने प्रयास गरेको छ । प्रकृति र जीवनका चालक नियमहरूको खोजी गरेको छ । यसका पक्ष र पाटाहरू केलाएर जीवन र प्रकृति दुवैलाई सृजनशील हराभरा र उन्नत बनाउन सकिने विश्वास दिलाएको छ ।

वास्तवमा भन्ने हो भने यो मार्क्सवादी दर्शन सत्यको ढोका खोल्ने साँचो बनेको छ । सत्यलाई ताल्चा ठोकेर आफैलाई सत्यको प्रतिमूर्ति ठान्ने समाजका उच्च वर्गीय (पुँजीवादी सामन्ती) सोच र चिन्तनका हिमायतीहरू यस दर्शन र सिद्धान्तको प्रतिपादन पछि समाजबाट पर्गेलिने परिस्थिति बन्न पुग्यो । साम्राज्यवादी नीति र तौर तरिका एक पछि अर्को विफल हुन पुग्यो । विश्वमा स्वाधीनता र स्वतन्त्रताको नयाँ माहौल सिर्जना हुन पुग्यो ।

पुँजीवादी लाभान्वित

मार्क्सवादबाट पुँजीवादी पनि लाभान्वित हुन पुगे । मार्क्सवादलाई नै प्रयोग गरेर पुँजीवादी आफैँ बाँच्न र आफ्नो वर्गीय सत्ता टिकाउने तरिका सिके । मार्क्सवादी अर्थशास्त्र र वैज्ञानिक समाजवाद लगायत अन्य कतिपय मूल्य र मान्यताहरूलाई आत्मसात् गर्न पुगे । सम्भावित जोखिम बारे तथ्यका अधारमा पूर्व–अनुमान गर्ने, त्यसलाई चिन्ने, जान्ने र बुझ्ने तौरतरिका सिके । जसको कारण खिइँदै समाप्तिको दिशामा पुगेको विस्तारवाद र मरिसकेको पुँजीवाद शोषणका नयाँ तौरतरिका अपनाउँदै आज एकाधिकारवादको नाममा बिउँझदै छ । पूर्व–आधुनिकतावादबाट पाठ सिकेर आधुनिकतावादमा शोषणका नयाँ रूप र पक्षहरू सँभाल्दै, उत्तर–आधुनिकतावाद तर्फ उत्तर–संरचनावाद बोकेर लम्किरहेको छ । विश्व विजेता बन्ने दौडमा छ ।

शोषणका तौर–तरिकाका

यस पुस्तकमा मार्क्सवादी राजनीति अर्थशास्त्रले राजनीति र अर्थको सम्बन्ध, मानिस र समाजका आवश्यकता र आवश्यकताका लागि गरिएको सङ्घर्षको समग्र पक्षको सरल रूपमा विश्लेषण छ । आर्थिक क्षेत्र मानव जातिका लागि कति मूल्यवान् छन् । त्यसले कस्ता विकृति निम्त्याएको छ । ती विकृति विरुद्ध कस्ता संघर्ष गर्न आवश्यक छ ।

हिजो कस्ता संघर्ष भए ? त्यसबाट कति उपलब्धि प्राप्त भयो ? ती उपलब्धिको संस्थागत विकास गर्दै त्यसको जगमा आजको आवश्यकता, आजको सामाजिक बनोट र आजका शोषणका तौर–तरिका बारेमा पनि पुस्तकले सजिलोसँग बुझाउन प्रयास गरेको छ । त्यसबाट शिक्षा लिएर आजको समाजले ज्ञानका नयाँ क्षितिज खोल्न सुझाएको छ ।

मार्क्सवादका विद्यार्थीहरूका लागि मात्र हैन, आर्थिक क्षेत्रमा लागेका जो कोहीका लागि पनि यो पुस्तक उपयोगी र भरपर्दो साथी हुनेछ । यसले जीवनको गति समात्न दिशा दिएको छ । हरेक वस्तु निर्विकल्प नरहने, विकल्प नै वस्तुको कमजोरी वा आवश्यकता र त्यो नै सक्रियताको आधार भएको जनाएको छ ।

प्रकृति र मानिस

प्रकृति भित्र पाँच तत्त्वहरू हुन्छन् भनी मानिएको छ । तिनीहरूमा ताप(शक्ति), पानी, माटो, हावा र आकाश । मानिसको शरीर पनि यिनै पञ्च–तत्वले बनेको छ । त्यसैले मानिस पनि प्रकृति हो । प्रकृतिमा हुने हरेक उथलपुथलले मानिसलाई पनि प्रभावित तुल्याउँछ । मानिसले आफुलाई प्रकृतिसँग बच्न र उसलाई सधाउन जान्नु पर्दछ । प्रकृतिमा सानो तल–वितल भएमा त्यो स्वतः मानिसमा पनि देखिनै हाल्दछ ।

आकाश कत्रो छ ?

प्रकृतिको एक अंश आकाश । आकाश कत्रो छ ? कसैले कल्पना गर्न सक्दैन । हामी सूर्य कत्रो छ भनेर कल्पना गर्न नसक्ने अवस्थामा छौं । विज्ञानको खोजले सूर्यको परिवार रहेको पुष्टि गर्‍यो । सौर्यपरिवार पनि आकाशगङ्गाको एउटा अंश मात्र रहेको भनी पत्ता लगायौं । सौर्यपरिवार जस्ता हजारौँ हजार परिवार लिएको बसेको हुन्छ एउटा आकाशगङ्गा । त्यस्ता आकाशगङ्गा त लाखौँलाख भएको भनी वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

अन्तरिक्षको खोज अभियान जारी छ । नयाँ नयाँ आकाशगङ्गाको खोजी गर्दै छन् । सफलता प्राप्त भइरहेछ । एउटै ताराका लाखौँ आकाशगङ्गा हुने रहेछ । यस्ता तारा पनि लाखौँलाख हुने रहेछन् । ब्याक होलको त कुनै मापन गर्न सकिनै अवस्था नै छैन । ह्वाइट होलको आफ्नै गति छ ।  यसैले आकाशको बारे मानिसमा भएको अन्यौलता कम गर्न प्रयास गरेको छ ।

धर्म र अन्धविश्वास

यस्तो विचित्रको संसारलाई बुझ्न भन्दा मानिसले ईश्वर को कल्पना भनेर त्यो क्षेत्रलाई धर्म र अन्धविश्वासमा लग्यो । डर र भ्रम सिर्जना गर्‍यो । मानिससँग प्रत्यक्ष सम्पर्क रहने प्रकृतिको एक तत्त्वको रूपमा रहेको आकाश जसले माटो, हावा, पानी र तापको सन्तुलन पैदा गरी यो पृथ्वीमा जीवको सृष्टि गर्‍यो ।

मार्क्सवादले यसको सच्चाइलाई उजागर गरेर दार्शनिकका भड्किएका ज्ञान र विचारलाई सँभालेर एउटा सम्बृद्धशाली विज्ञानको निर्माण गर्नु भयो । वैज्ञानिक तौरतरिकाहरू प्रदान गर्नु भयो । जसलाई हामी मार्क्सवाद अन्तरगतको वैज्ञानिक समाजवाद भनेर चिन्दछौ । यस कार्यमा उहाँको सहयोगी ऐंगेल्सको महत्त्वपूर्ण योगदान रहेकोले मार्क्सवाद भित्र ऐगेल्सका कुरा पनि त्यत्तिकै जीवन्त छन् ।

वैज्ञानिक विधि

मार्क्सवादी विचार आफै एउटा वैज्ञानिक विधि हो । विज्ञान जस्तै यो सृजनशील छ । पदार्थ जस्तै सक्रिय छ । यो पनि पदार्थको अंश हो । यो वस्तुगत तत्थ्यमा आधारित हुन्छ । हिजोको चेप्पागँडा देखि उभयचर हुँदै नर–मानव देखि आज सम्मको विकासलाई विज्ञानको आधारमा यसले व्याख्या र विवेचना गरेको छ । त्यसैले हिजोको इतिहासबाट शिक्षा लिएर आजको वर्तमान सजाउन र भोलिको भविष्य प्रति आशावादी तुल्याउन मार्क्सवादी दर्शन विज्ञान जगतको सम्पति बनेर आएको छ ।

र, अन्तमा,

यस पुस्तकमा यी सबै विषयका पाटा र पक्षहरूलाई सरल तरिकाले बुझाउन प्रयास गरिएको छ । माथि नै उल्लेख गरिए अनुसारका पाँच भाग र विभिन्न उपशीर्षकमा सरल रूपले प्रस्तुत गर्ने जमर्को यो पुस्तकले गरेको छ । ३८० पृष्टको यो पुस्तक पढ्न शुरू गरेदेखि नसके सम्म मनले शान्तिसँग बस्न दिदैन । गहन विषयहरूलाई सरल र सहज रूपले प्रस्तुत गरेको छ ।

वास्तवमा ‘कम्युनिस्ट स्कुल’ भन्ने पुस्तकको शीर्षकले निश्चित व्यक्ति वा समूहका लागि लेखिएको पुस्तक भन्ने भ्रम कसैमा पर्न सक्ला, तर वास्तविकता त्यस्तो छैन । यो पुस्तकले जीवनका बारेमा केही जान्न, बुझ्न र चिन्नका लागि उत्प्रेरित गर्छ । जो जीवन र जगतका बारेको विश्व दृष्टिकोण जान्न चाहन्छ, जसलाई सत्यको खोजी गर्न मन लाग्दछ, विकल्पको रोजी गर्न मन लाग्दछ, त्यस्ताका लागि यो पुस्तक उपयोगी छ । यो पुस्तकले समय काट्न मात्र सघाउँदैन ।

समयको बोध गराउँछ । जीवनको बोध गराउँछ । आफ्नो मूल्य बोध गराउँछ । आफूलाई व्यवस्थापन गर्न सिकाउँछ । थोरै चिजले धेरै उपलब्धि लिने बाटो देखाउँछ । दुखमा पनि हाँस्न र रमाउन सकिन्छ भनी सहज ज्ञान प्रदान गर्दछ । यो बहु–उपयोगी पुस्तक सबैको हातमा होस् । सबैको साथमा होस् । एक पटक पढेर मात्र सकिँदैन । बारम्बार पढ्न आवश्यक छ ।

पुस्तक पढ्दै गर्दा आएका तरङ्गहरू र पुस्तक पढिसकेपछि पाएका अनुभूतिहरू सँभालिरहँदा एउटा आलेख नै तयार हुन पुग्यो । धेरै महत्त्वपूर्ण विषयवस्तु उठाउन छुटेको छ । यो जिम्मा अरू पाठकले पनि लिनु हुने छ भन्ने आशा गर्दै, यस्तो लकडाउनको बेलामा पनि घरमै बसेर पुस्तक प्राप्त गर्न सकेँ । पुस्तक पढ्ने अवसर मिलाई दिने भाइ जनार्दन र लेखक मनहरि दुवै प्रति आभार प्रकट गर्दछु । अस्तु…।


प्रतिक्रिया दिनुहोस्