प्रहरीले अनुसन्धान थालेपछि भिटेनले प्राइभेट गरे र्‍याप भिडिओ

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ११ : ४७


भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्।

बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट हराएको छ।

भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्क्राइबर छन्। उक्त च्यानलमा जाँदा अहिले भिडिओ बजाउन मिल्दैन।

भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखेको थियो।

भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए।

यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो।

एक वर्षअघि पनि र्‍यापका विषयमा उनी विवादमा परेका थिए। प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो।
आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले

उनलाई बिनाकारबाही रिहा गरेको थियो।

भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए।

साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भइसकेको बतायो।

केही दिनअघि सार्वजनिक भएको भिटेनको उक्त भिडिओ अहिले नेपालको युट्युबमा टेन्ड्रिङको पहिलो नम्बरमा छ।


प्रतिक्रिया दिनुहोस्