कोरोनाको दोस्रो लहर शुरु भएपछि फ्रान्समा १ महिना लकडाउन

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ५ : १३


कोरोना भाइरसको दोस्रो लहरको संक्रमण पहिलेको भन्दा अझ घातक हुन सक्ने भन्दै फ्रान्सेली राष्ट्रपति एमानुयल माख्रोले देशभरि नै नयाँ लकडाउनको घोषणा गरेका छन् ।

फ्रान्सका अस्पतालहरुमा कोरोना भाइरसबाट बढ्दो बिरामीको चाप कम गर्न यस्तो कदम चाल्नुपरेको राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिले बताएका हुन् ।

उनले भने, ‘कोरोना भाइरसको द्रुत गतिको संक्रमणले हामी अति अभिभूत भएका छौं । सबै फ्रान्सेलीले अब उच्च सतर्कता अपनाउनुपर्छ । यसको विकल्प छैन ।’

राष्ट्रपतिका अनुसार शुक्रबारदेखि नयाँ घोषणा लागू हुने छ । यो घोषणा डिसेम्बर १ सम्म लागू हुने छ ।

घोषणाअनुसार सुसार केन्द्र र स्कुलहरु भने खुला रहने छन् ।

लकडाउनको नयाँ नियमअनुसार सर्वसाधारण नागरिकहरु अत्यावश्यक सामान खरिद, स्वास्थ्य परामर्श र एक घण्टा दैनिक व्यायामका लागि निस्किन पाउने छन् ।

कफी, रेस्टुरेन्ट, बारहरु पूर्णरुपमा बन्द गर्नुपर्ने छ ।

सुपरमार्केट र फार्मेसीहरुहरु भने खुला रहन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्