यूएईमा जारी आईपीएलको प्लेअफ नजिक पुग्यो मुम्बई इन्डियन्स

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १२ : ३४


साविक विजेता मुम्बई इन्डियन्स संयुक्त अरब ईमिरेट्स (युएई)मा जारी १३ औं स‍ंस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफ नजिक पुगेको छ ।

बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो ।

आबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहँदै ७९ रनको बनाए । यस्तै इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे । हार्दिक पाण्ड्या १७ रनमा आउट हुँदा कुर्नाल पाण्ड्याले १० रन बनाए ।

मुम्बईविरुद्ध बैंगलोरका युजभेन्द्र चाहल र मोहमद सिराजले २/२ विकेट लिए । क्रिस मोरिसले १ विकेट लिए ।

सअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । ४५ बलमा उनले १२ चौका र १ छक्का प्रहार गरे ।

यस्तै जोस फिलिपले ३३ रन जोड्दा एबी डी भिलियर्सले १५ रन बनाए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । उनले आईपीएलमा १ सय विकेटको आँकडा समेत पूरा गरेका छन् ।

जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । आठौं जित निकालेको मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ । बैंगलोर भने १२ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्