मोटरसाइकल चालकले ध्यान दिनुपर्ने ५ कुरा, जसले ठूलो दुर्घटनाबाट बचाउँछ

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ४ : ३१


काठमाडौं । नेपालमा बिक्री हुने सवारीसाधनमध्ये ७० प्रतिशतको हाराहारीमा दुईपाङ्ग्रे साधन (बाइक) छन् ।

मोटरसाइकल र स्कुटर गरी वार्षिक करिब ३ लाखको हाराहारीमा दुई पाङ्ग्रे सवारी नेपालमा बिक्री हुने गरेको छ । हालसम्म नेपालमा ४० लाख बढी दुई पाङ्ग्रे सवारी नेपालमा दर्ता भएको तथ्याङ्क छ ।

मध्यम वर्गीय नेपाली परिवारको लागि भरपर्दो सवारीको साधन बनेको बाइक युवाहरुका लागि शौख पनि हो ।

अनिवार्य सवारी साधन वा शौखको सवारी साधन जे भएपनि बाइक राइड गर्ने व्यक्तिले केही महत्वपूर्ण पार्ट्सका विषयमा भने जानकारी राख्नु नै पर्ने हुन्छ ।

विशेषत मोटरसाइकलमा ब्रेक, क्लच, चेन स्पोर्केट, टायर, इन्धन तथा मोबिल, ब्याट्रीका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

ब्रेक

कुनै पनि सवारीका लागि ब्रेक ब्रेकिङ सिस्टम सबैभन्दा महत्वपूर्ण पक्ष हो । यसको सहयोगले नै सवारी चालक सकुसल आफ्नो गन्तव्यमा पुग्न सक्छ । अहिले बजारमा उपलब्ध मोटरसाइकलमा ड्रम र डिस्क ब्रेक प्रयोग भएको पाइन्छ ।

ब्रेकिङ सिस्टमलाई सहयोग पु¥याउन धेरै मोटरसाइकलमा कम्बाइन ब्रेकिङ सिस्टम (सीबीए) र एन्टीलक ब्रेकिङ सिस्टम (एबीएस) जस्ता फिचर पनि आउन थालेका छन् ।

त्यसैले चालकले आफ्नो मोटरसाइकलको ब्रेकिङ सिस्टमबारे पूर्ण जानकार हुनु आवश्यक हुन्छ । साथै समय समयमा आफैले पनि ब्रेकिङ सिस्टमले काम गरे–नगरेकोबारे परीक्षण गर्ने गर्नु पर्छ ।

चेन स्पोर्केट

कुनै पनि मोटरसाइकल गुड्नका लागि सबैभन्दा महत्वपूर्ण भूमिका चेनको हुन्छ । दुई वटा स्पोर्केटलाई जोडेर इन्जिनअनुसार पाङ्ग्रा घुमाउन प्रयोग हुने चेन मोटरसाइकलको महत्वपूर्ण पार्टस् हो । यसको प्रयोग बीना मोटरसाइकल चल्न सक्दैन ।

कहिले काहिँ गुड्दा गुड्दै चेन खस्ने समस्या आएर मोटरसाइकल दुर्घटनामा पर्न सक्छ । त्यसैले बेला बेलामा मोटरसाइकलको चेन परिक्षण गर्ने गर्नुपर्छ । साथै आवश्यकताअनुसार चेन स्पोर्केटमा ग्रीस र लुब्रिकेन्टको पनि प्रयोग गर्नुपर्ने हुन्छ । बेलाबेलामा चेनको सफाइ पनि गर्ने गर्नु पर्छ ।

टायर

बाहिरी आँखाले टायरको अवस्था सहजै अनुमान लगाउन सकिन्छ । लामो यात्रामा निस्कीएको समयमा टायर निरिक्षण गरेर हिड्ने गर्नु पर्छ । विशेषत नेपालको बाटो खराब हुने भएकोले टायरको ग्रिपमा विशेष ध्यान दिनु पर्छ । यदि टायरमा राम्रो ग्रिप छैन भने त्यसलाई तत्कालै परिवर्तन गर्नु पर्छ । यस्तै एयर प्रेसर पनि समय सयममा चेक गर्नु पर्छ ।

इन्धन र मोविल

मोटरसाइकल चल्न प्रयोग हुने इन्धन गुणस्तरीय हुनु पर्छ । तर, नेपालमा इन्धनको गुणस्तर मापन गर्ने संयन्त्र नै छैन । त्यसैले पेट्रोल हाल्दा निकै सजकता अपनाउनु पर्ने हुन्छ ।

साथै, मोटरसाइकलको मोविलको अवस्था बेलाबखतामा हेर्ने गर्नु पर्छ । यदि मोविल सुकेको वा त्यसमा हुने चिल्लो पदार्थ हराएको अवस्थामा इन्जिन नै सिज हुन सक्ने खतरा रहन्छ । त्यसैले मोविलको परिक्षण निकै आवश्यक हुन्छ ।

व्याट्री

व्याट्री अन्य पार्टस जस्तै नियमित परिक्षण गर्नु नपर्ने भएपनि यसलाई कम्तीमा महिनामा एक पटक परीक्षण गर्नु पर्छ । व्याट्रीको सहयोग ले नै मोटरसाइकलको कन्सोलले काम गर्ने, इलेक्ट्रीक स्टार्ट गर्ने जस्ता काम गर्ने हुँदा व्याट्रीलाई दुरुस्त राख्नु पर्ने हुन्छ ।

यसका अलावा मोटरसाइकलमा क्लच, डिस्क प्याड, हेड लाइट, थ्रोटल जस्ता पार्टस्को पनि आफैले बेला बेला चेक गर्न सकिन्छ । कुनै पार्ट्स बिग्रिएका छ भने तुरुन्तै सर्भिस सेन्टरमा लगेर मर्मत तथा फर्ने काम गर्नु पर्छ ।


प्रतिक्रिया दिनुहोस्