मुकेश चौरसियाका हत्यारालाई कारबाहीको माग गर्दै नेकपाका ३७ नेताले जारी गरे विज्ञप्ती

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ४ : ०८


वीरगन्ज । पर्साका स्थानीय नेता मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ३७ नेताले विज्ञप्ती जारी गरेका छन् ।

पूर्वमन्त्री एवम् नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवसहित ३७ जना नेताले विज्ञप्ती जारी गर्दै चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका हुन् ।

नेकपाको विन्दबासिनी गाउँपालिका कमिटीका अध्यक्ष र सचिव पदको शपथग्रहण कार्यक्रम चलिरहँदा कात्तिक ६ गते दुई पक्षबीच झडप भएको थियो ।

ओली पक्षका भनिएका नेकपा कार्यकर्ताले प्रचण्ड–नेपाल पक्षको भनिएको कार्यक्रममा आक्रमण गरेका थिए ।

आक्रमणमा करिब ८ जना घाइते भएका जनाइएको छ । घाइतेमध्ये पूर्व माओवादी नेता चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको भनिएको छ । तर, पीडित पक्षले भने तत्कालीन नेकपा एमालेबाट प्रथम संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्ब्र ३ बाट निर्वाचित भएका राजकुमार गुप्तामाथि मुकेशको हत्या गरेको आरोप लगाएको छ ।

मुख्य योजनाकार भनिएका पूर्वसभासद गुप्ताविरुद्ध भने प्रहरीले जाहेरी दर्ता गर्न नमानेको पीडित पक्षको भनाइ छ ।

नेकपाका ३७ जना नेताहरुले जारी गरेको वक्तव्यमा जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तले अमूक व्यक्ति (गुप्ता)को नाम हटाएर ल्याए मात्रै जाहेरी दर्ता गर्ने भनेर भनेको आरोप लगाइएको छ ।

‘घटनाको प्रकृति हेर्दा, पार्टीको गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु निर्विवाद थिए । शपथग्रहण हुन मात्र बाँकी थियो । शपथग्रहण हुनुअघि नै केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरुको योजनामा अपराधीहरू बाँसको भाटालगायतका हतियार बोकी कार्यक्रम स्थल पुगे,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको झण्डा र ब्यानरहरु च्यात्न थाले, मुकेश चौरसियाले रोक्न खोज्नु भयो । अपराधीहरूले उहाँ लगायत निहत्था कमरेडहरूमाथि आक्रमण गरे । केही कमरेडहरू घाइते भए भने चौरसियाको मृत्यु हुन पुग्यो ।’


प्रतिक्रिया दिनुहोस्