यस्तो मन्दिर– जहाँ भगवानको हैन, बुलेट बाइकको हुन्छ पूजा

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


मन्दिरमा कसको पूजा हुन्छ ? भनेर सोध्दा सबैले दिने एउटै उत्तर हुन्छ– भगवानको । तर, केही मन्दिर यस्ता पनि हुन्छन्, जहाँ भगवानको नभइ मोटरसाइकल (बाइक)को पूजा हुन्छ ।

यस्तो मन्दिर भारतीय राज्य राजस्थानमा छ । जहाँ रोयल इन्फिल्ड कम्पनीको बुलेट ३५० मोटरसाइकलको भगवान मानिन्छ । बुलेटको पूजा गरिन्छ, आफूले चाहेको कुरा मागिन्छ ।

स्थानीयहरु बुलेट बाइकको पूजा गरे मनोकामना पूरा हुने विश्वास पनि गर्छन् ।

राजस्थानको जोधपुरदेखि लगभग ५० किलोमिटरको दुरीमा रहेको यो मन्दिर ओम बन्ना धाम अर्थात् ‘बुलेट बाबाको मन्दिर’का नामले चर्चित छ ।

यो मन्दिरमा विशेष गरी बाइक राइडरहरु पूजा गर्नका लागि पुग्ने गर्छन् । बाइकराइडरहरु सुरक्षित यात्राका लागि कामना गर्न त्यो मन्दिर पुग्छन् । त्यसो त अन्य सर्वसाधारण पनि आफ्नो सुरक्षा र समृद्धिको कामनाका लागि मन्दिर पुगेर पूजा गर्ने गर्छन् ।

राजस्थानको पाली शहरको नजिक चोटिला गाउँमा ठाकुर जोग सिंह राठोडले आफ्ना छोरा ओम सिंह राठोडको नाममा सो मन्दिर बनाएका हुन् ।

लगभग ३० वर्ष अगाडि ओम सिंहको सडक दुर्घटनामा मृत्यु भएको थियो । स्थानीय स्तरमा चलेको चर्चाअनुसार दुर्घटनापछि प्रहरीले मृतकको शवसँगै दुर्घटनाग्रस्त मोटरसाइकलाई पनि आफ्नो कस्टडीमा लिएको थियो । तर, दोस्रो दिन नै बाइक प्रहरी चौकीबाट गायव भएको थियो ।

प्रहरी चौकीबाट गायव भएको बाइकको खोजी गर्दै जाँदा पुनः दुर्घटनास्थलमै भेटिएको थियो । प्रहरीले पुनः बाइकलाई प्रहरी चौकीमा ल्याएर राख्यो, तर दोस्रो दिन पनि पुनः बाइक चौकीबाट बेपत्ता भयो । त्यसपछि प्रहरीले सीसी क्यामरा जडान गरेर बाइक चोरी गर्ने व्यक्तिको पहिचान गर्न लाग्यो ।

तर, सीसी क्यामेरामा कैद भएको दृश्यमा बाइक आफैं स्टार्ट भएर दुर्घटनास्थलमा पुग्ने गरेको देखिएको चर्चा चोटीला गाउँमा छ । त्यसपछि डराएर प्रहरीले उक्त बाइक मृतक ओमको परिवारलाई नै दियो ।

ओमको परिवारले दुर्घटनास्थलमा ‘बन्ना धाम’ निर्माण गरी उक्त बाइकलाई त्यहिँ राखिदिए । राजस्थानमा केटालाई बन्ना भनिन्छ ।


प्रतिक्रिया दिनुहोस्