‘बेका’ सम्झौतापछि अमेरिकाले भन्यो– चीनकाविरुद्ध हामी भारतको साथमा छौं

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : ३१


नयाँ दिल्ली । भारत र संयुक्त राज्य अमेरिकाबीच दुवै देशका सेनाबीच सूचना आदानप्रदान सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको मन्त्रीस्तरीय बैठकपछि दुवै मुलुकबीच बेसिक एक्सचेन्ज एण्ड कोअपरेशन एग्रीमेन्ट (बेका) मा हस्ताक्षर भएको हो ।

बेका सम्झौताका अनुसार दुवै देशका सेनाबीच सूचना आदानप्रदान, उच्चस्तरको सैनिक प्रविधि र प्रतिरक्षासँग सम्बन्धित गोप्य उपग्रहीय सूचनाहरु आदानप्रदान हुने छ ।

भारत सरकारको तर्फबाट विदेश मन्त्रालयका अतिरिक्त सचिव जिदेश नन्दनले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बैठकमा भारतका तर्फबाट रक्षामन्त्री राजनाथ सिंह तथा विदेश मन्त्री एस जयशंकर र अमेरिकाका तर्फबाट विदेश मन्त्री माइक पोम्पेओ र रक्षा मन्त्री मार्क एस्पर सहभागी थिए ।

दुवै देशका अधिकारीहरुले व्यापार, हिन्द तथा प्रशान्त महासागरीय क्षेत्रको सुरक्षा, सामरिक तथा रणनीतिक सहयोगको विषयमा पनि चर्चा गरे ।

बैठक पछि अमेरिकी रक्षामन्त्री माइक एस्परले भने, ‘दुवै देशबीच भएको रक्षा सम्झौता हाम्रो साझा मूल्य र हितमा आधारित छ । सबका लागि खुला तथा स्वतन्त्र इन्डो–प्यासिफिक क्षेत्र होस् भन्नका लागि हामी काँधमा काँध मिलाएर साथमा रहने छौं । खास गरेर चीनको बढ्दो आक्रमकता र अस्थीर रहने गतिविधिलाई मध्यनजर गरेर…’

त्यसपछि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अमेरिका र भारतबीच स्वास्थ्यका क्षेत्रमा नयाँ सन्धि भएको बताए । जसमा उनले चीनप्रति केही आरोप लगाए ।

पोम्पेओले भने, ‘चीनको कम्युनिस्ट पार्टी लोकतन्त्र, कानूनी नियम, एक–दोस्रोबीच स्पष्टता र जलपरिवहनको स्वतन्त्रतालाई लिएर मित्रवत छैन, जो कि मुक्त र खुला इन्डो–प्यासिफिक क्षेत्रको आधार हो ।’

अमेरिकी मन्त्रीहरुले आफ्नो भाषणमा गलवान उपत्यकाको नाम पनि लिए । जहाँ चिनियाँ सेनासँगको झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो । तर, भारतका रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरले भने चीनको नाम उच्चारण गरेनन् ।

दुवै देशका सेनाबीच सूचना आदानप्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि अमेरिकी विदेशमन्त्री पोम्पेओ र रक्षामन्त्री एस्परले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्