कम्प्युटर प्रोसेसर उत्पादक कम्पनी एएमडी र झिलिङ्क्स एक हुने

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १ : ४९


क्यालिफोर्निया । कम्प्युटरमा लाग्ने चिप्स (प्रोसेसर) लगायत उपकरण उत्पादन गर्ने कम्पनी एड्भान्स्‌ड माईक्रो डिभाइस (एएमडी)ले झिलिङ्क्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ ।

यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अझ तीब्र हुने अनुमान गरिएको छ ।

झिलिङ्क्सलाई एएमडीमा गाभेसँगै यसको शेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिङ्क्सका शेयरधनीले अब प्रतिशेयर १.७२३४ प्राप्त गर्ने छन् । एएमडीको शेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिङ्क्सको करिब २६ प्रतिशत हुनेछ ।

एएमडीले उत्पादन गरेका प्रसेसर टेक्नोलोजीहरु सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर संचालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ ।

झिलिङ्क्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डेटा सेन्टर संचालनमा थप प्रगति हुने विश्वास व्यक्त गरे ।

एएमडीका प्रमुख कार्यकारी डा लिसा सू ले संयुक्त कम्पनीको प्रमुख कार्यकारीका रुपमा जिम्मेवारी सम्हाल्नेछन् । पेङ भने एएमडीको अध्यक्ष रहनेछन्, र झिलिङ्क्स तर्फको व्यवसाय र रणनीतिक वृद्धिका बारेमा नेतृत्व लिनेछन् ।

यो सम्झौतालाई अर्को वर्षको अन्त्यसम्ममा पूर्ण कार्यान्वयनमा ल्याइसक्ने जनाइएको छ । यो सम्झौतालाई दुबै कम्पनीका शेयरधनीहरुले अनुमोदन गर्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्