काठमाडौंका सडकमा अब विद्युतीय ट्याक्सी गुड्ने, सुन्दर यातायातले थाल्यो तयारी

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १ : ११


काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा विद्युतीय बस सेवा सञ्चालन गरिरहेको सुन्दर यातायातले अब विद्युतीय ट्याक्सी सेवा पनि सञ्चालन गर्ने भएको छ ।

‘उपयुक्त वातावरण’ भएमा तिहार पछि उपत्यकाका सडकमा सुन्दर यातायातका विद्युतीय ट्याक्सी गुड्नेछन् ।

सुन्दर यातायात प्रालिले अहिले विद्युतीय ट्याक्सी सञ्चालनका लागि सरकारबाट अनुमति प्राप्त गर्ने प्रक्रियामा रहेको जनाएको छ ।

सरकारले जति छिटो अनुमति प्रदान ग¥यो त्यति नै छिटो विद्युतीय ट्याक्सी सञ्चालन गरिने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

सुन्दर यातायात प्रालिले दशैं, तिहार तथा छठ पर्वको शुभकामना सन्देश जारी गर्दै छिट्टै विद्युतीय ट्याक्सी २सेवा शुरु गर्ने जानकारी गराएको हो ।

सुन्दर यातायातले ४ सिट क्षमता र ५ सिट क्षमताका दुईवटा विद्युतीय कारलाई ट्याक्सीका रुपमा सञ्चालनमा ल्याउने जनाएको छ ।

४ सिट क्षमताको भएको ट्याक्सीमा ३२ किलोवाट क्षमताको ब्याट्री हुने छ । यो कार एकपटक चार्ज गरेपछि १ सय ५० किलोमिटरसम्म कुद्ने छ ।

यस्तै, ५ सिट क्षमताको कारमा ४२ किलोवाट क्षमताको ब्याट्री प्याक हुनेछ । यो कार एकपटक चार्ज गरेपछि २ सय किलोमिटर सम्म कुद्ने छ ।

हाल पेट्रोल इन्जन भएका सुजुकी अल्टो ८००, हुन्डाइ ईओन, टाटा ई–जेटा लगायतका कारहरु काठमाडौंमा ट्याक्सीका रुपमा प्रयोग भइरहेका छन् ।

केही समय अगाडि मात्रै सरकारले ट्याक्सीका सन्दर्भमा नयाँ मापदण्ड जारी गरेको थियो । यद्यपि नयाँ मापदण्डअनुसारका ट्याक्सी भने सडकमा गुडिसकेका छैनन् ।

विद्युतीय ट्याक्सीका सन्दर्भमा भने सरकारले कुनै निश्चित मापदण्ड तोकिसकेको छैन ।


तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्