नेपाली सडकमै गुड्छ वर्षमा १ चोटी मात्रै सर्भिसिङ गर्नुपर्ने बाइक

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ११ : ५३


बाइक राइडरलाई सबैभन्दा झन्झट लाग्ने विषय हो, सर्बिस । नेपालको बाटोको विशेषताले पनि बाइकहरु छिट्टै सर्भिस गर्नुपर्ने हुन्छ ।

साधारणतया कुनै मोटरसाइकल २ हजार ५ सयदेखि ३ हजार किलोमिटरसम्म कुद्यो भने त्यसलाई सर्भिसिङका लागि लैजानुपर्ने हुन्छ । त्यसमाथि हरेक सर्भिसिङमा घटिमा १५०० रुपैयाँको बिल उठ्न जान्छ ।

तर, नेपालमै बिक्री भइरहेको एउटा यस्तो बाइक पनि छ, जसलाई वर्षको एकचोटी मात्रै सर्भिसिङमा दिए पुग्छ । त्यो बाइक हो जर्मन अटो ब्रान्ड बीएमडब्लुको ।

सन् २०१८ को डिसेम्बर महिनाबाट नेपालमा बिक्री शुरु भएको बीएमडब्लुका हालसम्म २ सय ५० थान बाइकहरु बिक्री भएका जनाइएको छ । नेपालका लागि आधिकारिक वितरक बीएमडब्लु मोटरार्ड कम्पनीका अनुसार नेपाली सडकमा गुडिरहेका बाइकहरुलाई वर्षको १ चोटी मात्रै सर्भिस गरे पुग्छ ।

सामान्यतः बीएमडब्लूका बाइकहरु १० हजार किलोमिटर गुडेपछि सर्भिसिङ गर्दा पुग्ने बताइन्छ । नेपालमा पनि बीएमडब्लुका बाइकहरु १० हजार किलोमिटर गुडेपछि मात्रै सर्भिसिङमा ल्याउन भन्ने गरिएको छ ।

नेपालमा बीएमडब्लुका बाइकका लागि काठमाडौंको नक्सालमा ‘अत्याधुनिक’ सर्भिस सेन्टर छ । हरेक चोटी फूल सर्भिस गर्दा इन्जिन आयल समेत गरी ५ हजार ५ सय रुपैयाँ सर्भिस चार्ज लाग्ने गर्छ ।

नेपालमा बीएमडब्लुका ४ फरक मोडलका बाइकहरु उपलब्ध छन् । नेपाली बजारमा बीएमडब्लुका मूल्य ९ लाख ५० हजार देखि ११ लाख १५ हजार मूल्य पर्ने बाइकहरु बिक्री भइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्