जब एक गरिब किसानका लागि बुद्धले आफ्नो उपदेश रोक्नु पर्‍यो

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


भगवान गौतम बुद्ध एक पटक उपदेश दिनका लागि एक गाउँमा पुगेका थिए । उनको उपदेश सुन्नका लागि हजारौं मानिस उपस्थित थिए ।

त्यस सभामा गाउँका एक गरिब, तर कर्मठ किसान पनि उपस्थित भएका थिए । बुद्धको उपदेश सुन्ने ठूलो इच्छा, थियो तर दुर्भाग्यवश उसको एक गोरु हराएको खबर उसले पायो । उ चिन्तामा पर्यो । एउटा गोरु फेला परेन भने आफ्नो काम कसरी हुन्छ भन्ने चिन्ताले उसलाई सतायो ।

उसको त पूरा जीवन नै त्यही गोरुमा निर्भर थियो । उ धर्मसंकटमा पर्यो कि हराएको गोरु खोजु कि बुद्धले प्रदान गर्ने धर्मोपदेश सुन्नु । आखिरमा उसले गोरु खोज्ने निर्णय गर्यो र त्यहाँबाट निस्कियो ।

अथक प्रयासपछि कृषकले हराएको गोरु राति फेला पार्यो । दिन भर थाकेको र भोकाएको कृषक सिधै प्रवचनस्थल पुग्यो । उसले बुद्धलाई नमस्कार गर्यो ।

कृषकको थाकेको अनुहार देखेपछि वुद्धले खाना खुवाउन भिक्षुहरुलाई भने । उसले खाना खाएपछि वुद्धले उपदेश दिन शुरु गरे । कृषक एकाग्र भएर बुद्धका वचनहरुलाई सुनिरहेका थिए । तर एक जना कृषकका लागि वुद्धले प्रवचन रोकेको भन्दै शिष्यहरुले खासखुस गरे ।

तब बुद्धले शान्त स्वरमा भने, भिक्षुगण ति कृषकलाई मेरो उपदेश सुन्ने ठूलो इच्छा थियो तर उसको एक गोरु हरायो । यसबाट उसको कामहरु प्रभावित हुन सक्थ्यो । बाध्य भएर उ गोरु खोज्न गयो ।

दिन भर भोकै गोरु खोजेर मेरो उपदेश सुन्न आएको उसलाई उपदेश सुनाएको भए उसले त्यसलाई ग्रहण गर्न सक्दैन थियो । भोक भन्दा ठूलो समस्या र रोग संसारमा अर्को कुनै छैन ।

अन्य रोग त एक पटक चिकित्सकले वा उपचारले शान्त हुन्छ तर पेटको भोक निको पार्ने अन्य उपाय छैन, भोकाएको मानिसले केही ज्ञान लिन सक्दैन ।


प्रतिक्रिया दिनुहोस्