पर्सामा नेकपा नेताको हत्यामा संलग्नलाई कारबाही गर्न प्रचण्डको माग

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो पार्टीको पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानूनी दायरमा ल्याएर कारबाही अगाडि बढाउन माग गरेका छन् ।

आइतबार एक वक्तव्य जारी गर्दै प्रचण्डले नेकपाका पर्सा जिल्ला कमिटी सदस्य एवम् विन्दवासिनी गाउँपालिका कमिटी सचिव चौरसियाको हत्यामा संलग्न जोसुकै भएपनि कानूननी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

हत्या जस्तो गम्भीर अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकाय (जिल्ला प्रहरी कार्यालय पर्सा)ले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको प्रचण्डको भनाइ छ ।

‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु,’ प्रचण्डले भनेका छन् ।

नेकपाको विन्दबासिनी गाउँपालिका कमिटीका अध्यक्ष र सचिव पदको शपथग्रहण कार्यक्रम चलिरहँदा आक्रमण भएको थियो । ओली पक्षका भनिएका नेकपा कार्यकर्ताले प्रचण्ड–नेपाल पक्षको भनिएको कार्यक्रममा आक्रमण गरेका थिए ।

आक्रमणमा करिब ८ जना घाइते भएका जनाइएको छ । घाइतेमध्ये पूर्व माओवादी नेता चौरसिया मृत्यु भएको छ ।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको भनिएको छ । तर, पीडित पक्षले भने तत्कालीन नेकपा एमालेबाट प्रथम संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्ब्र ३ बाट निर्वाचित भएका राजकुमार गुप्तामाथि मुकेशको हत्या गरेको आरोप लगाएको छ ।

मुख्य योजनाकार भनिएका पूर्वसभासद गुप्ताविरुद्ध भने प्रहरीले जाहेरी दर्ता गर्न नमानेको पीडित पक्षको भनाइ छ ।


पूर्वएमालेबाट सभासद बनेका गुप्ताले पूर्वमाओवादी कार्यकर्ताको हत्या गरेको आरोप


प्रतिक्रिया दिनुहोस्