गर्लफ्रेन्डका बारेमा अपशब्द बोलेपछि सँगै रक्सी पिएका साथीको ढुङ्गाले हानेर हत्या

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ११ : ५९


काठमाडौं । भक्तपुरमा साथीको हत्या गरी फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरमा एक युवकको हत्या गरी फरार भएका २ जनालाई आइतबार पक्राउ गरेको हो ।

आइतबार बिहान ७ः३० बजेतिर भक्तपुर नगरपालिका–२ इटापाको प्लानिङस्थित नरकटघारीको खोल्सामा एक युवकको शव फेला परेको थियो ।

अनुसन्धानका क्रममा उक्त शव भारतको उत्तर प्रदेश जयंतिपुर मुरादावाद घर भइ भक्तपुर–१ स्थित दुवाल मेटल काराखानामा पित्तलको भाँडा बनाउने ३५ वर्षीय शाहिव हुसैनको भएको खुलेको थियो ।

प्रहरीले हत्याको आशंकामा उनका साथी (सँगै काम गर्ने) सलमान खान र सानु अन्सारीलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेका दुवैजनासँग सोधपुछ गरेपछि उनीहरु बस्दै आएको कोठामा तलासी गरेको थियो । तलासीका क्रममा रगत लागेको लुगा र जुत्ता फेला परेको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुवै जनाले शाहिवको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

प्रहरीका अनुसार शनिबार मृतक शाहिव, सलमान र सानुले सँगै मदिरा सेवन गरेका थिए । मदिराको नशामा शाहिवले सानुकी प्रेमिका (गर्लफ्रेन्ड)का बारेमा अपशब्द प्रयोग गरेपछि विवाद बडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शाहिवले आफ्नी प्रेमिकाका बारेमा अपशब्द बोल्न नछाडेपछि सलमान समेत मिलेर ढुङ्गाले हानेर शाहिवको हत्या गरेको सानुले प्रहरीलाई दिएको बयानमा बताएका छन् ।

प्रहरीले पक्राउ परेका दुवैजनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्