महाअष्टमीका दिन किन दिइन्छ पशुबलि ?

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार


काठमाडौं । नेपालीको महान पर्व दशैंका बेला देशका विभिन्न मन्दिर र शक्तिपीठहरुमा बलि दिने प्रचलन छ । दशैंका बेला मात्र नभइ अन्य पर्व, उत्सव र धार्मिक एवं तान्त्रिक कार्यसिद्धिका लागि पशुबलि दिइँदै आएको पाइन्छ । कुनै समय मानव बलि समेत प्रचलनमा रहेकोमा हाल यो लोप भइसकेको छ ।

आज (शनिवार) दशैंको आठौं दिन अर्थात् महाअष्टमीको दिन सबैभन्दा बढी बलि दिने गरिन्छ । दुर्गाभवानीको विशेष पूजा गरिने आजको दिन भगवती मन्दिर तथा शक्तिपीठहरुमा राँगा, बोका, हाँस, कुखुरालगायत पशुपंक्षीको बलि दिने गरिएको छ ।

देबी देवताका नाममा आखिर बलि किन दिइन्छ त ? यसबारे विभिन्न तर्क–वितर्क र बहस पनि हुँदै आएका छन् । महाअष्टमीको दिन शास्त्रसम्मत रूपमा दशैंघर, कोतलगायत देशका विभिन्न शक्तिपीठमा पशु बलि दिइ दुर्गाभवानीको विशेष पूजाआजा गरिनाले सुख-समृद्धि र मुक्ति पाइने जनविश्वास रहिआएको छ ।

खासमा बलि शब्दले प्राणीको बलिदान दिइनुलाई नै जनाउँछ । तर बलिका मुख्य ३ प्रकार रहेको यसबारे जानकारहरु बताउँछन् । ती हुन्- सात्विक, राजस र तामस बलि ।

चन्दन, अक्षता, फूल, अर्घ्य, पञ्चामृत र पायस लगायत १६ सामग्रीले पूजा गर्ने विधिलाई सात्विक भनिन्छ । यसलाई षोडषोपचार पूजा पनि भनिन्छ ।

पशु तथा पंक्षीको रगत, मासु चढाएर देवीदेउतालाई सन्तुष्ट गराउने विधिलाई राजस बलि भनिन्छ । यसमा सात्विक पूजाका साथै पशुबलि अर्थात् रगत चढाउनु अनिवार्य मानिन्छ ।

सात्विक र राजस दुवै विधिसहित मदिरा समेत चढाएर गरिने पूजा विधिलाई तामस भनिन्छ । यी कुरा शास्त्रमा नै परिभाषित गरिएकाले पशुबलि शास्त्रसम्मत नै रहेको एकथरी विद्वानहरु तर्क गर्छन् ।

काठमाडौंस्थित प्रसिद्ध गुह्येश्वरी मन्दिरमा यही तामस विधिबाट बलि दिने परम्परा छ । अन्य शक्तिपीठहरुमा भने राजस बलि दिइन्छ ।

मुक्तिका लागि बलि ?

देबी–देवताका मन्दिर र यज्ञ-यज्ञादिमा विधिपूर्वक दिइने बलि मुक्तिसँग जोडेर हेर्ने गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले पवित्र स्थल तथा शक्तिपीठहरुमा पशुपंक्षीको बलिदान दिएर उनीहरुको मोक्षमार्ग सुरक्षित गर्नकै लागि बलि दिइने गरेको शास्त्रीय मत राख्नेहरु तर्क गर्छन् ।

यसरी देबी–देवताका खातिर बलिदान चढ्ने पशुले अर्को जन्ममा माथिल्लो जुनी लिएर जन्मने शास्त्रमा वर्णन गरिएको बताइन्छ । यद्यपि यस मतको धेरैले खण्डन पनि गर्ने गरेका छन् ।

पशुबलि दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर सङ्कल्प र प्रार्थना गरी दिइने शास्त्रीय तान्त्रिक विधिका जानकारहरुको मत छ ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको बताइन्छ । अहिले नेपालमा चलेको तन्त्र र वैदिक मिश्रित विधि भएकाले शक्तिपीठमा बलि दिनुपर्छ भन्ने मान्यता नै प्रबल रहेको देखिन्छ ।

राज्यको सुरक्षाका लागि समेत क्षत्रीयमार्फत अनिवार्य बलि दिनुपर्ने मान्यता राखिन्छ । तर ब्राह्मणको हातबाट भने पशुबलि दिन वर्जित गरिएको छ ।

राज्य सञ्चालकले प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्ने शास्त्रीय मत रहेको छ ।

महाअष्टमीका दिन विशेषगरी देशैभरिका साना ठूला शक्तिपीठ तथा कुल देवता थानमा बलि दिने गर्छन् । कतिपयले त घरमै पनि बोका तथा कुखुरा काटेर बलि दिन्छन् ।

मुख्यतया काठमाडौं उपत्यकाभित्रका शक्तिपीठ भद्रकाली, नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, रक्तकाली, बज्रयोगिनीलगायत मन्दिरहरुमा बलि दिने गरिन्छ ।

सर्वसाधारणले मात्रै हैन राज्यले नै समेत बलि दिने चलन छ । हनुमानढोकाको दशैंघर, तलेजु भवनीमा महाअष्टमीका दिन राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्री पूजा गर्ने चलन अझै पनि छ । नेपाली सेनाले समेत हातहतियारको पूजा गर्दै विभिन्न शक्तिपीठमा मौलो पूजा बलि दिने चलन छ ।

देशका अन्य विभिन्न जिल्लाका प्रसिद्ध शक्तिपीठहरुमध्ने सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, बैतडीको देहीमाडौं एवमं निंगलाशैनी भगवती, तल्लादेही, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, नुवाकोटको देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजा गरिन्छ।


प्रतिक्रिया दिनुहोस्