बाइक या कारको इन्जिनमा हालिने आयल (मोबिल)बारे तपाईंलाई के थाहा छ ?

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : ३०


काठमाडौं । आफूले चलाउने गरेको सवारी साधन (दुई या चार पाङ्ग्रे) सर्विसिङका लागि लैजाँदा सर्विस गर्ने व्यक्तिले सोध्ने गर्छन्– इन्जिन आयल पनि फर्ने हो ? अझ इन्जिन आयललाई हामीले मोबिल भनेर चिन्ने गर्छौं ।

तर, हामीमध्ये धेरै कम व्यक्तिले मात्रै सोध्ने गर्छौं कि हाम्रो सवारीमा कस्तो प्रकारको इन्जिन आयल हालिन्छ । कस्तो इन्जिन आयल हाल्दा के काम गर्छ र कुन राम्रो हुन्छ ?

सवारी साधनमा इन्जिन आयलको प्रयोग यसकारण गरिन्छ कि, त्यसले कुनैपनि सवारी साधनको इन्जिनलाई चुस्त दुरुस्त रुपमा संचालन गर्ने काम गर्छ । इन्जिन आयल सवारी साधनको क्षमता अभिवृद्धि गर्ने, पर्फमेन्सलाई बढाउने गर्ने तथा सवारी साधनको इन्जिनको आयू समेत बढाउन सहयोग गर्छ ।

बजारमा विभिन्न ब्राण्डका धेरै थरिका इन्जिन आयल उपलब्ध रहेका छन् । यसलाई कम्पनीहरुले विभिन्न ग्रेडमा बिभाजन गरेर उत्पादन गर्ने गरेको पाइन्छ । हरेक इन्जिन अनुसार इन्जिन आयल समेत फरक किसिमको प्रयोग गर्नु पर्ने हुन्छ ।

कस्तो इन्जिनमा कुन प्रकारको आयल प्रयोग गर्ने हो त्यो सवारी साधनको क्षमता र कार्यले निर्धारण गर्ने गर्छ । गलत प्रकारको इन्जिन आयलको प्रयोगले इन्जिनको क्षमता ह्रास ल्याउनका साथै इन्जिनको आयू नै घटाउँछ ।

राम्रो गुणस्तरको इन्जिन आयलले इन्जिन सिल र ग्यासकेट प्लेटलाई चुस्त राख्न मद्धत गर्छ । खास गरेर इन्जिन आयल तीन प्रकारको हुन्छ ।

मिनरल, सेमि सिन्थेटिक र सिन्थेटिक इन्जिन आयल बजारमा किन्न सकिन्छ । यी तीन प्रकारका इन्जिन आयलमा समेत विभिन्न ग्रेड रहेको छ । फरक फरक इन्जिन अनुसार फरक फरक आयल प्रयोग गर्ने गरिन्छ ।

तपाईंले आफ्नो सवारी साधन सर्भिस गराउन जाँदा सर्भिस सेन्टरबाट कुन सवारी साधनमा कुन इन्जिन आयल उपयुक्त हुन्छ भन्ने जानकारी लिन सक्नुहुन्छ ।

मिनरल इन्जिन आयल

यो एक परिस्कृत पेट्रोलियम आयल हो । यसले मध्यम तापक्रममा काम गर्ने क्षमता राख्छ । बजारमा अहिले पनि उपलब्ध धेरै जसो कार तथा मोटरसाइकलमा मिनरल आयल प्रयोग हुने गर्छ ।

यसले इन्जिनमा हुने फिक्सनबाट पैदा भएको तापक्रमलाई नियन्त्रण गर्न प्रर्याप्त लुब्रिकेशन प्रदान गर्छ । यसले उच्च तापक्रममा भने राम्रो कार्य गर्न सक्दैन । मिनरल इन्जिन आयल तुलनात्मक रुपमा सस्तो हुन्छ ।

सेमि-सिन्थेटीक आयल

यसलाई मध्यम श्रेणीको इन्जिन आयल मानिन्छ । यो इन्जिन आयल मिनरल आयल र सिन्थेटिक आयलको समिश्रणबाट निर्माण गरिन्छ । यसले कम तथा धेरै तापक्रममा उच्च पर्फमेन्स प्रदान गर्छ । हाल बजारमा उपलब्ध मिड साइक बाइकमा यो इन्जिन आयल प्रयोग हुने गरेको छ । मिनरल आयलको तुलनामा यो केही महंगो रहेको छ ।

सिन्थेटीक आयल

सिन्थेटीक इन्जिन आयल उच्चतम लुब्रिकेशनको रुपमा परिचित रहेको छ । यसको पर्फमेन्स एकदमै उच्च रहन्छ ।

यो इन्जिन आयल प्रयोग हुने सवारी साधन अन्यको तुलनमा राम्रो माइलेज समेत दिने किसिमका हुन्छन् । खास गरेर यसको प्रयोग प्रिमियम सावरी साधनमा हुने गर्छ ।
यसले अति चिसो र धेरै तातो मौसममा समेत समान पर्फमेन्स दिन्छ । यो अन्य आयलको तुलनामा धेरै महंगो रहेको छ ।


प्रतिक्रिया दिनुहोस्