गैंडाको खागसहित एक जना शिक्षक पक्राउ

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ५ : ०६


काठमाडौं । प्रहरीले गैंडाको खागसहित एक जना शिक्षकलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी पासाङ ल्ह्यामु चोकबाट एक जनालाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी इनरूवा नगरपालिका–७का ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीका अनुसार उनी काठमाडौंको एक कलेजमा पढाउने शिक्षक हुन् ।

उनले गैंडाको खाग झापाबाट किनेर ल्याएको प्रहरीले बताएको छ । प्रहरीले संरक्षित वन्यजन्तु गैंडाको खागको अवैध रूपमा कारोबार भइरहेको भन्ने सूचना पाएको थियो ।

सोही सूचनाको आधारमा खटिएको टोलीले रिजाललाई पक्राउ गरेको हो ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन (२०२९) अन्तर्गत आवश्‍यक अनुसन्धानको लागि उनलाई डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्