कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : ४२


अछाम । कैलालीको धनगढी नगरपालिकामा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवान रामबहादुर साउँदको अछाममा सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

प्रहरी जवान साउँदको अछामको कैलाश खोलामा उच्चसम्मानसहित हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।

दिवंगत प्रहरी जवान साउँदको पार्थिव शरीरमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापाले नेपाल प्रहरीको झण्डा ओढाएका थिए ।

यस्तै, अछाम प्रहरीका सहायक निरीक्षक (असई) रमेश भट्टको टोलीले साउँदलाई शोक सलामी दिएको थियो ।

प्रहरी जवान साउँदलाई उनका भाइले दागबत्ती दिएका जनाइएको छ ।

अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिका घर भएका साउँद कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत थिए ।

सीमा क्षेत्रमा भाइरहेको तस्करी रोक्न अस्थायी प्रहरी पोस्टका इञ्चार्ज (असई) गोविन्द विकसँगै साउँद शनिबार राति गस्तीमा गएका थिए । गस्तीमा गएका असई विकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका–१० अन्तर्गत पर्ने मोहना नदीमा फेला परेको थियो ।

साउँदको भने मंगलबार बिहान मोहना नदीमै गाडिएको अवस्थामा शव फेला परेको थियो ।

नेपालबाट भारततर्फ भइरहेको केराउको तस्करी रोक्दा प्रहरी जवान साउँदसहित असई विकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले साउँद र विकको हत्यामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । प्रहरीले हत्या आरोपमा थप १ जनालाई समेत पक्राउ गरेको छ ।

तस्करको समूहबाट हत्या गरिएका प्रहरी जवान साउँदका श्रीमती र २ छोरी छन् ।


प्रतिक्रिया दिनुहोस्