बारामा प्रहरी र भारतीय नागरिकबीच गोली हानाहान

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ६ : ४०


निजगढ । बारामा एकजना भारतीय नागरिक र प्रहरीबीच गोली हानाहान भएको छ ।

बुधबार दिउँसो ३ बजेतिर प्रहरी र भारतीय नागरिकबीच बाराको सिम्रोनगढ नगरपालिका–९ सानो बंकुलमा गोली हानाहान भएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्ति प्रहरी देखेपछि भागेका थिए । प्रहरीले रोक्न खोज्दा उनले प्रहरीमाथि नै पेस्तोल ताकेर गोली चलाएका थिए ।

त्यसपछि प्रहरीले गोली हानेर उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीद्वारा गोली प्रहार गरी नियन्त्रणमा लिइनेमा भारतको मातिहारी पूर्वी जम्पारणको दूधिअवाका २८ वर्षीय बृजकिशोर कुशवाह छन् ।

‘शंका लागेर प्रहरीले रोक्न खोज्दा भागेको थियो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा उसले प्रहरीलाई गोली हानेको थियो, तर लागेन,’ जिल्ला प्रहरी कार्यालय बाराका एसपी कृष्ण पंगेनीले भने, ‘त्यपछि हाम्रो (प्रहरीको) टोलीले गोली हानेर नियन्त्रणमा लिएको हो ।’

प्रहरीका अनुसार कुशवाहको बायाँ पाखुरामा गोली लागेको छ । गोली लागेका भारतीय नागरिक कुशवाहलाई उपचारका लागि सिम्रोनगढस्थित कंकाली पोलिक्लिनिक लगिएको छ । प्रहरीले उनको अवस्था सामान्य रहेको जनाएको छ ।

कुशवाहको साथबाट एउटा पेस्तोल र त्यसमा लाग्ने गोली ५ राउण्ड बरामद गरिएको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्