तस्करी रोक्न खोज्दा कैलालीमा प्रहरीको हत्या गर्ने ७ जना सार्वजनिक

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ५ : २९


काठमाडौं । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि गस्तीमा खटिएका कैलालीका २ प्रहरी कर्मचारीको हत्यामा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इञ्चार्ज (असई) गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संलग्न ७ जनालाई कैलाली प्रहरीले मंगलबार अपराह्न सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार असई विक र जवान साउँदको हत्यामा संलग्नहरु धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडा (कटान) का हुन् ।

पक्राउ पर्नेमा धनगढी–१० का ३० वर्षीय चोर भनिने सुरेश राना, टल्लु भनिने २९ वर्षीय दलराम राना, फुर्कु भनिने ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना, २२ वर्षीय राम निवास राना र २५ वर्षीय राम गोपाल राना छन् ।

प्रहरीले उनीहरुलाई आइतबार र सोमबार गरी नेपाल–भारत सीमाअन्तर्गत कैलालीको जुगेडाबाटै पक्राउ गरेको हो । घटनाको अनुसन्धानका लागि भन्दै प्रहरीले शुरुमा १६ जनालाई नियन्त्रणमा लिएको थियो । तर, पक्राउ परेकामध्ये ७ जनाको मात्रै संलग्नता पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार राति सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि खटिएका धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको आइतबार शव फेला परेको थियो ।

असई विकसँगै मोटरसाइकल गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको भने मंगलबार मोहना नदीमा गाडिएको अवस्थामा शव फेला परेको थियो ।

पक्राउ परेकाहरुले असई विक र प्रहरी जवान साउँदले केराउ (मटर) तस्करीमा अवरोध गरेपछि आक्रमण गरी हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्