कोरोनाबाट मृत्यु हुनेको शव सेनाले नै व्यवस्थापन गर्छ, त्यसमा कुनै परिवर्तन भएको छैन– स्वास्थ्यमन्त्री

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ५ : ०१


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको शव व्यवस्थापनका सन्दर्भमा प्रचलित कार्यविधिमा कुनै परिमार्जन नगरिएको बताएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा भिडियो सन्देश जारी गर्दै मन्त्री ढकालले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले नै गर्दै आएको र त्यसमा कुनै परिमार्जन नभएको बताए ।

‘नेपाल सरकार, मन्त्रिपरिषदको २०७७/२/१२ को निर्णयानुसार कोभिड १९ को कारणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शव व्यवस्थापन सम्बन्धी प्रोटोकल २०७७ बमोजिम स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले गर्ने नीतिमा कुनै परिवर्तन भएको छैन,’ मन्त्री ढकालले भने, ‘जनताको रिति–रिवाज, संस्कार र परम्पराअनुसार शव व्यवस्थापन गर्ने मागलाई सम्बोधन गर्न र भौगोलिक विकटतालाई समेत ध्यान दिई शव व्यवस्थापन थप सहज बनाउन कार्यविधिमा केही व्यवस्था समावेश गरी यो परिवर्तन गरिएको छ ।’

मन्त्री ढकालले तोकिएका बाहेक अन्य व्यक्ति (सर्वसाधारण) कोरोनाबाट संक्रमित भएमा उपचार गर्दा लाग्ने खर्चको सन्दर्भमा लिइएको निर्णय संविधान र कानूनसम्मत नै भएको जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस्