ललितपुरबाट ८ वर्षीया बालिकाको अपहरण, ३ घण्टामै सकुशल उद्धार गर्न सफल भयो प्रहरी

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


काठमाडौं । सोमबार बेलुकी ७ः३० बजेको समयमा महानगरीय प्रहरी बृत्त सातदोबाटोमा फोनमार्फत एउटा जानकारी आयो, ललितपुरको महालक्ष्मी नगरपालिका–४ मनकामना चोकबाट ८ वर्षकी एक बालिका अपहरणमा परिन् ।

अपहरणको सूचना पाएलगत्तै बृत्तबाट डीएसपी मित्रबध्नु शर्माको कमाण्डमा प्रहरीको टोली तैनाथ भयो । अपहरणको सूचना आएकै क्षेत्र, महालक्ष्मी–४ मनकामना चोकबाटै प्रहरीले अनुसन्धान शुरु ग¥यो ।

बाराको सिम्रौनगढ नगरपालिका–१ घर भइ ललितपुरका महालक्ष्मी नगरपालिका–४ मनकामना चोक बस्दै आएकी गुड्डी आफ्नी ८ वर्षीया छोरी अनुखा साह अपहरणमा परेकी प्रहरीलाई बताइन् ।

घर बाहिर चोकमा खेलीरहेकी छोरीलाई नचिनेका व्यक्तिले साइकलमा राखेर लगेको भन्दै गुड्डीले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरीले मनकामना चोकमा भएका सीसीटिभी फुटेजको अध्ययन ग¥यो । सीसीटिभी फुटेज अध्ययन गर्दा नै अपहरणकारीको हुलिया पहिचान भइसकेको थियो ।

अपहरणमा परेको करिब ३ घण्टा पछि नै प्रहरीले अनुखाको सकुशल उद्दार ग¥यो । उनलाई ललितपुर महानगरपालिका–२९ हरिसिद्धीस्थित सिता परियारको कोठामा बन्धक बनाएर राखिएको थियो ।

अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन–८ बासटोल घर भइ ललितपुरको हरिसिद्धी बस्ने ३० वर्षीय राजु कार्की, काभ्रेको नमोबुद्ध–८ घर भइ हरिसिद्धी नै बस्ने २३ वर्षीय सिता परियार र धनुषाको धारापानी गाउँपालिका–२ घर भइ हरिसिद्धी नै बस्ने ४० वर्षीय कृष्ण तोलामी छन् ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये ३० वर्षीय राजु कार्की अपहरणका मुख्य अभियुक्त हुन् ।

प्रहरीले बालिका अपहरणमा प्रयोग भएको फोनिक्स लेखिएको हरियो रंगको एउटा साइकल समेत बरामद गरिएको जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्