कैलालीमा प्रहरी हत्या प्रकरण: असई विकले बोकेको पेस्तोल भेटियो

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १ : १६


धनगढी । तस्करहरुले हत्या गरेका कैलालीको धनगढी–१२ स्थित अस्थायी प्रहरी पोस्ट (जुगेडा)का इञ्चार्ज असई गोविन्द विकले बोकेको पेस्तोल भेटिएको छ ।

मंगलबार प्रहरी जवान रामबहादुर साउँदको शव खोज्ने क्रममा असई विकले बोक्ने गरेको चाइनिज पेस्तोल भेटिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार जवान साउँदको शव यसअघि असई विकको शव फेला परेको स्थानभन्दा करिब २ सय मिटर उत्तरपश्चिममा भेटिएको हो ।

असई विकको हत्या आशंकामा पक्राउ परेका एक व्यक्तिले दिएको संकेतका आधारमा प्रहरीले जावन साउँदको शव मोहना नदीमा फेला पारेको थियो ।

प्रहरीका अनुसार जवान साउँदको शव नदीभित्रै खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको हो ।

प्रहरी जवान साउँदको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ ।

जुगेडा अस्थायी प्रहरी पोस्टका इञ्चार्ज असई विक र जवान साउँद शनिबार राति सीमा क्षेत्रमा गस्तीमा गएका थिए । गस्तीमा गएकामध्ये असई विकको आइतबार बिहान शव फेला परेको थियो भने जवान साउँदको मंगलबार बिहान शव फेला परेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी सिंहका अनुसार असई विक र जवान साउँदको एउटै प्रकृतिले हत्या गरिएको देखिएको छ । दुवै जनाको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको देखिएको एसएसपी सिंहले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सीमा क्षेत्रबाट तस्करी गर्ने गिरोहले असई विक र जवान साउँदको हत्या गरेको देखिएको छ ।

विक र साउँदको हत्याबारे अनुसन्धान गर्न प्रहरीले आइतबारयता १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जनाले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गर्दै साविति बयान दिएका प्रहरीले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्