कैलाली घटनामा ‘स्थानीय तस्करकै संलग्नता’, दुवै प्रहरीको घाँटी रेटेरै हत्या

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १२ : ४६


काठमाडौं । सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणका लागि परिचालन भएका कैलालीका २ जना प्रहरी कर्मचारीको हत्यामा हत्याराहरुले एउटै प्रकृतिबाट आक्रमण गरेको देखिएको छ ।

शनिबार राति मोटरसाइकल गस्तीमा गएका धनगढी उपमहानगरपालिका–१२ स्थित अस्थायी प्रहरी बिटका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउँदको शनिबार राति नै हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

हत्या गरिएका असई विकको आइतबार बिहान शव फेला परेको थियो भने जान साउँदको मंगलबार शव फेला परेको छ ।

प्रहरी जवान साउँदको शव असई विकको शव भेटिएको ठाउँबाट करिब २०० मिटर पर फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश कुमार सिंहले दैनिक अनलाईनलाई जानकारी दिए ।

दुवै प्रहरीको हत्या घाँटी रेटेरै

आइतबार शव फेला परेका विकको घारिलो हतियारबाट घाँटी रेटेर विभत्स रुपमा हत्या गरिएको देखिएको थियो ।

मंगलबार शव फेला परेका साउँदको पनि धारिलो हतियार प्रयोग गरेर नै घाँटी रेटेर हत्या गरेको देखिएको एसएसपी सिंहले बताए ।

‘असई विक र जवान साउँदको एउटै प्रकृतिको हत्या देखिन्छ । दुवैजनाको धारिलो प्रहार गरी घाँटी रेटिएको छ,’ एसएसपी सिंहले भने ।

घटनामा स्थानीय तस्करकै संलग्नता

जिल्ला प्रहरी कार्यालय कैलालीका एक अधिकारीका अनुसार पछिल्लो समय कैलालीको जुगेडा–कटान नाका भएर मलखाद, कुखुरा र दैनिक उपभोग्य सामग्रीसहित केही प्रतिबन्धित सामग्रीको पनि तस्करी हुने गरेको थियो ।

प्रहरीका अनुसार उक्त नाका भएर मलखाद दैनिकजसो तस्करी हुन्छ । यस्तो तस्करीमा जुगेडा र त्यस आसपासको क्षेत्रमा घर भएका व्यक्ति नै संलग्न हुन्छन् ।

‘धनगढीका केही व्यवसायीले त्यस्ता तस्करसँग सम्बन्ध बनाएका हुन्छन् । उनीहरु (तस्करहरु) राति नै वारी (नेपाल)तर्फ सामान ल्याएर छाड्छन् । नेपाली सीमामा पुर्‍याइसकेपछि व्यापारीले सामान उठाउँछन्,’ नाम उल्लेख नगर्ने शर्तमा जिल्ला प्रहरी कार्यालय कैलालीका ती अधिकृत भन्छन्, ‘यो क्षेत्रमा तस्करहरुको एउटा च्यानल नै छ । जसलाई तोड्ने प्रयास गर्दा असई (गोविन्द विक) र प्रहरी जवान (रामबहादुर साउँद)ले ज्यान गुमाउनु पर्‍यो ।’

उक्त नाका भएर भारतबाट नेपाल र नेपालबाट भारततर्फ तस्करी हुने गर्छ ।

घटनामा स्थानीय तस्करकै संलग्नता भएको आशंकामा प्रहरीले आइतबारदेखि अहिलेसम्म १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पक्राउ परेका १३ जना नै धनगढी क्षेत्रमा हुने तस्करीका घटनामा संलग्न हुँदै आएका व्यक्ति हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सिंहका अनुसार पक्राउ परेकामध्ये केही व्यक्ति यसअघि पनि तस्करीमै संलग्न रहेको आधारमा पक्राउ पनि परेका थिए । तर, विभिन्न कारण र प्रभावले रिहा भएका उनीहरु पुनः तस्करीमा सक्रिय रहेको पाइएको छ ।

पक्राउ परेका १३ जनामध्ये सबैको साविती बयान लिएको छ । जसमध्येका ६ जनाले शनिबार राति जुगेडा–कटान नाकाबाट सामान भित्र्याएको बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीलाई दिएको बयानका क्रममा उनीहरुले सामान खोस्न थालेपछि प्रहरीमाथि आक्रमण गरेको बताएका छन् ।

‘सामान खोस्न शुरुमा जवान आए । उनीसँग झगडा भयो । हामी धेरै जना भएकाले उनको केही चलेन । त्यसपछि अर्का प्रहरी (असई विक)लाई पनि घेरा हालेर नियन्त्रणमा लियौं । दुवै जनाको हत्या गरेर नदीमा फालेका हौं,’ पक्राउ परेकाहरुले दिएको बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने ।

पक्राउ परेकाहरुले नै दिएको संकेतका आधारमा मंगलबार बिहान बेपत्ता प्रहरी जवान साउँदको शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिए ।

‘अहिलेसम्म यिनीहरुको बयान घटनाको प्रकृतिसँग मिल्दोजुल्दो नै छ । आज (मंगलबार) साँझसम्म अनुसन्धान प्रक्रियामा केही नतिजा हात लाग्ने देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका ती प्रहरी अधिकृत भन्छन् ।

प्रहरी अधिकारीका अनुसार पक्राउ परेकाहरुको बयान र अहिलेसम्म प्राप्त केही प्रमाणहरुको आधारमा दुवै जना प्रहरी कर्मचारीको हत्यामा स्थानीय तस्करकै संलग्नता देखिन्छ ।

घटनाको अनुसन्धानमा प्राविधिक सहयोगका लागि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब)बाट डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोली समेत कैलाली पठाएको छ ।

अहिले सीआईबीको टोली समेतको सहयोगमा कैलाली प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्