तस्करी रोक्दा हत्या गरिएका असई गोविन्द विकको उच्च सम्मानका साथ अन्त्येष्टि

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ५६


धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा हत्या गरिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको अन्त्येष्टि गरिएको छ ।

धनगढी उपमहानगरपालिका-१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका इञ्चार्ज रहेका विकको सोमवार शोक सलामीसहित कञ्चनपुरमा अन्त्येष्टि गरिएको हो ।

कञ्चनपुरको दोदा नदीको कीर्तिपुर घाटमा उनको सम्मानसहित अन्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अन्त्येष्टि अगाडि विकको पार्थिव शरीरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले झन्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

असई विकको हत्या गरिएको अवस्थामा आइतवार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर १० मा पर्ने नेपाल-भारत सीमास्थित मोहना नदीमा शव फेला परेको थियो ।

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि शनिबार राति गस्तीमा गएका विकको आइतबार विहान विभत्स रुपमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

असई विकसँगै मोटरसाइक गस्तीमा खटिएका प्रहरी जवान रामसिंह साउदको अवस्था भने अझै अज्ञात छ ।


प्रतिक्रिया दिनुहोस्