झापामा व्यक्ति अपहरण गरी प्रहरीमाथि गोली चलाउने अभियुक्त काठमाडौंबाट पक्राउ

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


काठमाडौं । झापामा व्यक्ति अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा दोषी ठहर भएका व्यक्ति झन्डै ६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१२ घर भएका नरेश मेचे छन् । मेचेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको नयाँ बसर्पाक क्षेत्रबाट पक्राउ गरेको हो ।

१८ माघ २०७१ मा झापाको बिर्तामोड नगरपालिका–६ बस्ने सुनिल कुमार अग्रवाल (विन्दल)को अपहरण भएको थियो ।

बजरंग पन्सारी (अग्रवाल) समेतले हतियार देखाएर सुनिलको अपहरण गरी एम्बुलेन्समा हालेर झापाको धरमपुर–२ स्थित हर्क बहादुर कन्दको घरमा बन्धक बनाइ राखेका थिए ।

अपहरणको सूचना पाएपछि खटिएको प्रहरीले माघ २३ गते सुनिलाई अपहरणमुक्त गरेको थियो । सुनिललाई अपहरण मुक्त गर्ने क्रममा अपहरणकारीले प्रहरीमाथि नै गोली चलाएका थिए ।

त्यसक्रममा भएको दोहोरो गोली हानाहानमा १ जना प्रहरी कर्मचारी समेत घाइते भएका थिए । प्रहरीले अपहरणमा संलग्नविरुद्ध संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग गरेको शीर्षकमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

पछि जिल्ला अदालत झापाले नरेश मेचेको हकमा १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

घटना भएदेखि नै फरार भएका उनी काठमाडौंमा रहेको भन्ने सूचना पाएपछि सीआईबीले खोजी शुरु गरेको थियो ।

खोजीका क्रममा उनलाई काठमाडौंको गोंगबुस्थित होटल काठमाडौं इनबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको सीआईबीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्