आईपीएलमा सट्टेबाजी खेलाउने ३ जना विराटनगरबाट पक्राउ

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : २२


विराटनगर । संयुक्त अरब ईमिरेट्समा जारी (ईन्डियन प्रिमियर लिग) आईपीएलमा अनलाइनमार्फत सट्टेबाजी गराउने ३ जना मोरङको विराटनगरबाट पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१६ भट्टीमोडबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विरानगर–१६ भट्टीमोड बस्ने, ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मञ्जित साह र सोही ठाउँका २८ वर्षीय अपजार अली छन् । प्रहरीले पक्राउ परेका अलीको साथबाट नेपाली रुपैयाँ नगद २८ हजार ५ सय समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले आईपीएलमा अनलाइनमार्फत सट्टेबाजी खेलाउने गरेका थिए । सट्टेबाजी खेलाउँदा प्रयोग हुने मोबाइल र सट्टेबाजीसँग सम्बन्धित विवरण भएको डायरी समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका तीनैजना विरुद्ध जुवा तथा सट्टेबाजीको कसुरअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्