दशैंलाई लक्षित गरी मोरङमा सोमबारदेखि निषेधाज्ञा

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : ४९


विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दशैं पर्वलाई लक्षित गरी केही निश्चित क्षेत्रमा लागू हुने गरी जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ ।

दशैंलाई लक्षित गरिएको निषेधाज्ञा सोमबार (कात्तिक ३ गते) देखि कात्तिक १५ गतेसम्मलाई जारी गरिने छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कोरोना जोखिमलाई मध्यनजर गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्म निषेधाज्ञा जारी गरिने जनाएको हो ।

‘जिल्लाभरिका सबै मठ, मन्दिर, शक्तिपिठहरू, मस्जिद, गुम्बा, चर्चहरूमा दैनिक रुपमा गरिने नित्य पूजा, प्रार्थना बाहेक सामुहिक रुपमा भेला जम्मा भई पूजा, प्रार्थना, भजन, कीर्तन, रथयात्रा, कलश यात्रा, बली पूजा, मुर्ति विसर्जन आदि जस्ता कार्यहरू नगर्ने नगराउने,’ जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको सूचनामा भनिएको छ।

यस्तै चाडपर्वमा सामुहिक रुपमा भेला भई शुभकामना आदान प्रदान समेत नगर्न अपिल गरिएको छ।

निषेधज्ञा अवधिभर जिल्लाभरि नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका सवारी बाहेक अन्य सवारीको आवतजावतलाई समेत रोक लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस्