माछा मार्ने भन्दै खोला किनारमा लगेर भाउजुको हत्या, शव बालुवामा पुरेर घर फर्किए

प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार


भीमदत्तनगर । माछा मार्ने भन्दै नदी किनारमा लगेर आफ्नै भाउजुको हत्या गर्ने एक युवकलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ घर भएका २४ वर्षीय मानसिंह खुना छन् ।

भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका खुनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

३५ वर्षीया कलावती खुनाको हत्या आरोपमा प्रहरीले मानसिंहलाई गत असोज २८ गते पक्राउ गरेको हो । कलावतीको शव सुनवरा नदी किनारमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार मानसिंह र कलावती दुवै सँगै माछा मार्न खोलामा गएका थिए । देवर (मानसिंह)सँगै खोलामा माछा मार्न गएकी कलावतीको शव नदीको किनारामा भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरेर शव गाडिएको खुलेपछि प्रहरीले मानसिंहलाई पक्राउ गरेको थियो ।

प्रहरीले सार्वननिक गरेका खुना कलावतीका देवर हुन् । उनले सुनवरा नदीमा माछा मार्न नदीमा पसेका अवस्थामा घाँटी च्यापेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मानसिंहले घरायसी विवादका कारण भाउजुको घाँटी च्यापेर हत्या गरी शव नदी किनारमा गाडेको बयान दिएका छन् । तर, प्रहरीले भने हत्याको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्