पूर्व मन्त्रीले ठेक्कामा लिएर भाडामा लगाएको सटरहरुमा नेपाल स्काउटले काटिदियो बिजुली

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : ०७


काठमाडौं । नेपालको स्काउटिंग र गाइडिंग संस्था नेपाल स्काउटले कोरोना महामारीका समयमा व्यवसायीलाई दुःख दिएको छ ।

कोरोना महामारीका कारण थिलथिलो अवस्थामा पुगेका व्यवसायीलाई नेपाल स्काउटले थप पीडा दिएको हो ।

लैनचउरमा रहेको स्काउटको केन्द्रीय कार्यालय भएको स्थानमा भाडामा लगाइएका सटर र कवलहरुमा स्काउटले बिजुली काटिदिएको छ ।

कोरोना महामारी लकडान र निषेधाज्ञापछि सामान्य गतिमा भएपनि सुचारु भएको व्यवसाय आइतबारदेखि काटिएको बिजुलीका कारण प्रभावित भएका छन् ।

३५ भन्दा बढी सटरमा विभिन्न व्यवसाय र होटल समेत सञ्चालनमा रहेका छन् ।

उक्त स्थानमा व्यवसाय गर्दै आएका एक व्यापारीले कोरोना कहरका बेलामा स्काउटले आफूहरुमाथि अन्याय गरेको बताए ।

सर्वोच्च अदालतले कोभिडका समयमा भाडा लगायतका विषयमा दवाव दिन नमिल्ने फैसला गरेको भएपनि स्काउटले व्यवसायीलाई असर पर्नेगरि बिजुली काटिदिएको हो ।

‘कोरोनाले ८ महिनादेखि व्यवसाय पूर्ण रुपमा ठप्प भएर भरखर सुचारु हुने क्रममा थियो तर स्काउटले अमानवीय हर्कत देखायो’ स्काउटको जग्गामा बनेका सटरमा व्यवसाय गर्दै आएका एक व्यवसायीले बताए ।

बत्ति काटिएका कारण होटलहरुले ठूलो क्षति व्यहोर्नु परेको छ । एकै दिन ६० हजार भन्दा धेरै मूल्यको आइसक्रिम लागायतका सामाग्री फाल्नु परेको छ ।

विहानै देखि बत्ति काटिएपछि व्यवसायीहरु स्काउटको कार्यालयमा पनि पुगेका थिए ।

तर स्काउटले यो आफूहरुको समस्या नभएको भन्दै उनीहरुलाई खड्का ल्याण्ड एण्ड डेभलपमेन्ट प्रालि कुराकानी गर्न भन्दै पीडित व्यवसायीको समस्यामा वेवास्ता गरेको छ ।

लैनचौरस्थित दूग्ध विकास संस्थानसँगै रहेको स्काउटको भवनसँगै २२ रोपनी खाली जग्गा छ ।

स्काउटको भवनका पसल कबल नेपाली कांग्रेसका सांसद तथा पूर्व राज्यमन्त्री दिपक खड्काले ठेक्कामा लिएर भाडामा लगाउदै आएका छन् ।

तर खड्काको कम्पनी खड्का ल्याण्ड एण्ड डेभलपमेन्ट प्रालिले भने आफूहरु समस्या समाधानका लागि लागिरहेको बताउँदै पन्छिइरहेको छ ।

‘हामीले माथि कुरा गरिरहेका छौं’ भन्दै उनीहरु पन्छिरहेको आरोप व्यवसायीको छ ।

नेपाल स्काउटलाई भाडा वापतको रकम उक्त कम्पनीले नतिरेका कारण स्काउटले बिजुली काटिएको कतिपयको भनाइ छ ।

व्यवसायीसँग लकडाउनको र त्यसयताको चार पाँच महिनाको भाडा लिएर पनि खड्का ल्याण्ड एण्ड डेभलपमेन्टले स्काउटलाई भाडा वापतको रकम नदिएका कारण समस्या उत्पन्न भएको स्रोतको दाबी छ ।

‘यसअघि भूकम्पको समयमा पनि स्काउटसँग भाडा छुट लिएर व्यवसायीसँग पूरै भाडा असुलेको कम्पनीले यसपटक पनि त्यस्तै गरेको हुनसक्छ,’ पीडित व्यवसायीले भने,‘ पानी वत्ति जस्तो अत्यावश्यकीय चिज काट्न समाजसेवा गर्ने स्काउटको असामाजिक काम हो ।’

तर स्काउटले भाडामा बसेको टोयोटा कम्पनीको बत्ति भने काटेको छैन ।

‘ठूला लाई चैन सानालाई ऐन भनेको जस्तो भयो, केहीलाई बत्ति दिने र केही लाई नदिने गर्न कसरी मिल्छ ?’ व्यवसायीले प्रश्न गरे ।

पूर्व मन्त्री खड्काले राजनीतिक पहुँचका आधारमा लामो समय यता स्काउटको जग्गा हडपिरहेको आरोप लाग्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्