हेल्मेटमा १० लाख रुपैयाँ लुकाएर भारतबाट नेपाल छिरेका ‘हुण्डी कारोबारी’ पक्राउ

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : १३


रौतहट । मोटरसाइकल चढ्दा लगाइने हेल्मेटमा १० लाख नेपाली रुपैयाँ लुकाएर भारतबाट नेपाल छिरेका एक युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका युवक हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशंका छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोली आइतबार दिउँसो जिल्लाको ईशनाथ नगरपालिका–७ स्थित सडकखण्डमा भारतबाट आएका पैदल यात्री र सवारीसाधनको चेकजाँच गरिरहेको थियो ।

भारतीय क्षेत्रबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना ५३ प ६२८४ नम्बरको मोटरसाइकललाई पनि प्रहरीले चेकजाँच गर्‍यो ।

मोटरसाइकल चालकले ‘शंकास्पद व्यवहार’ देखाए पछि प्रहरीले उनको हेल्मेट खोल्न लगायो । अनुहार हेरेर व्यक्ति पहिचानका लागि खोल्न लगाइएको हेल्मेट उचाल्ने क्रममा अस्वभाविक रुपमा गह्रङ्गो देखिएपछि प्रहरीले हेल्मेट भित्र लुकाएको अवस्थामा नेपाली नोट भेटिए ।

त्यसपछि प्रहरीले मोटरसाइकलसहित चालक बाराको सिम्रोनगढ नगरपालिका–७ घर भएका २० वर्षीय दीपक पटेललाई पक्राउ ग¥यो ।

प्रहरीका अनुसार पटेलले नेपाली रुपैयाँ १००० दरका ८ र ५ सय दरका ४ सय नोट हेल्मेटमा लुकाएर ल्याएका थिए ।

८ लाख बराबरका १००० दरका र २ लाख बराबरका ५०० रुपैयाँका नोटसहित पक्राउ परेका पटेलमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि आइतबार नै भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्