कैलालीमा ‘तस्करको समूह’बाट गस्तीमा रहेका एक प्रहरीको हत्या, अर्का एकजना सम्पर्कविहीन

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ११ : ५९


धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका एक प्रहरीको तस्करले हत्या गरिदिएका छन् । अर्का एक प्रहरी भने सम्पर्कविहीन छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अनुसार प्रहरी चौकी जुगेडामा कार्यरत २ प्रहरी आक्रमणको निशनामा परेका हुन् ।

आक्रमणमा परेका प्रहरीमध्ये एक जनाको शव फेला परेको छ । प्रहरी चौकी जुगेडाबाट शनिबार राति प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र हवल्दार रामबहादुर साउँद सीमा क्षेत्रमा गस्तीका लागि गएका थिए ।

जसमध्ये १ जनाको शव फेला परेको हो भने एकजना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एक अधिकारीका अनुसार धनगढीको जुगेडा नाका हुँदै रातिको समयमा तस्करी हुने गरेको थियो ।

चाडवाड लक्षित तस्करी हुने गरेकाले पछिल्लो समय सीमा क्षेत्रमा गस्ती गर्ने गरिएको थियो । शनिबार राति पनि असई विक र हवल्दार साउँदा मोटरसाइकल गस्तीमा सीमा क्षेत्रमा गएका थिए ।

गस्तीमा गएको धेरै समयसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । खोजीका क्रममा आइतबार बिहान मोहना नदीमा असई विकको शव फेला परेको हो ।

प्रहरीले तस्करको समूहले नै हत्या गरेर असई विकको शव नदीमा फालेको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको छ । बेपत्ता भएका प्रहरी हवल्दार साउँदको खोजी जारी रहेको डीआईजी सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्