शिलालेखमा आफ्नो नाम नराखेको भन्दै उपमेयरले हानिन् ढुंगा

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


कैलाली। कैलालीमा वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै मेयर र उपमेयरबीच विवाद भएको छ।

कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार वडा कार्यालयको भवन उद्घाटन गर्न आयोजना गरिएको सार्वजनिक कार्यक्रममै उप प्रमुख प्रेमकुमारी थापा र प्रमुख ममता प्रसाद चौधरीबीच झन्डै कुटाकुट भएको छ ।

एक अर्काका कारण नगरपालिका बदनाम भएको भन्दै प्रमुख र उपप्रमुख आरोप प्रत्यरोपमा उत्रिएका हुन् ।

नगरपालिकाको नवनिर्मित वडा नम्बर ७ को भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उपप्रमुख प्रेम कुमारी थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै शिलालेखमै ढुंगाले हिर्काइदिइन् ।

शिलालेखको अनावरण गरिरहेका बेला प्रहार भएपछि दुईजनाबीच हात हालाहाल भएको हो ।

शिलालेखमा प्रमुखको नाम समावेश भएको तर आफ्नो नाम नभएको भन्दै उपप्रमुख आक्रोसित बनेकी हुन् ।

प्रमुखविरुद्ध उपप्रमुख थापाले नाराबाजी गर्दै शिलालेखमा ढुङ्गा र मुक्का प्रहार गरेकी हुन् ।

कार्यपालिकामा कुनै छलफल नगरी प्मुखले एकलौटी ढंगले आफ्नोमात्र नाम लेख्न लगाएको उनको आरोप छ ।

विवादकैबीच प्रमुख चौधरीले उप प्रमुखका कारण नगरपालिका बदनाम भएको बताएपछि उपप्रमुख थापा थप आक्रोसित बनिन् । यसपछि दुईजनाबीच आरोप प्रत्यारो नै चल्यो ।

नगरप्रमुख ममता प्रसाद चौधरीले अहिलेसम्म भइरहेका कार्यक्रमका नियमअनुसार आफुले उद्घाटन गरेको र यसमा कुनै नयाँ कुरा नभएको बताएका छन् ।

उनले प्रधानमन्त्री सहभागी कार्यक्रममा उपप्रधानमन्त्रीले कहिले उद्घाटन गरेको देख्नुभएको छ भन्दै प्रतिप्रश्न प्रश्न गरे ।

कार्यक्रममा सहभागीहरुले बारम्बार सम्झउँदा पनि उपप्रमुख थापा आक्रोसित हुदै नाराबाजीमा उत्रिएकी हुन् ।


प्रतिक्रिया दिनुहोस्