अस्पतालले डिस्चार्ज गरेकी कोरोना संक्रमित बालिकाको बाटोमै मृत्यु

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


विराटनगर । कोरोना भाइरसको संक्रमण देखिएकी एक बालिकाको अस्पतालले डिस्चार्ज गरेकै केही समयपछि मृत्यु भएको छ ।

इलामको सूर्योदय नगरपालिका घर भएकी ८ वर्षीया बालिकाको मिर्गौलामा समस्या देखिएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

२४ दिन अगाडि विराट मेडिकल कलेजमा भर्ना भएकी उनमा ४ दिन अगाडि मात्रै कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि अस्पतालले शुक्रबार साँझ उनलाई डिस्चार्ज गरेको थियो ।

अस्पतालले डिस्चार्ज गरे पछि घर फर्काउँदा बालिकाको बाटोमा नै मृत्यु भएको हो ।

विराट मेडिकल कलेजले कोभिड अस्पतालमा लैजान भन्दै डिस्चार्ज गरेको थियो । तर, विराटनगरका कोभिड अस्पतालले बेड नभएको भन्दै भर्ना लिन मानेनन् ।

बालिकाका आफन्तले शनिबार कोभिड अस्पतालमा बेड पाइने सम्भावना भएकाले शुक्रबार राति त्यहिँ राख्न बिराट मेडिकल कलेज प्रशासनलाई अनुरोध गरेका थिए ।

तर, विराटन मेडिकल कलेज प्रशासनले बालिकालाई एकछिन पनि अस्पतालमा राख्न नमानेको मृतक बालिकाका एक अभिभावकले जानकारी दिए ।

विराटनगरमा अस्पताल नपाएपछि आफन्तले बालिकलाई घर फर्काएका थिए । घर फर्किने बेला राति ११ बजे बाटोमै बालिकाको मृत्यु भएको हो ।

बाटोमा नै मृत्यु भएकी बालिकाको शव व्यवस्थापनका लागि इलामको सूर्योदय नगरपालकिाकाले प्रक्रिया शुरु गरेको छ ।


तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्