चीनले फेरि भन्यो– हुम्लामा नेपाली भूमि मिचेर भवन बनाएका छैनौं

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ९ : ४९


काठमाडौं । चीनले नेपाली भूमि नमिचेको बताउँदै हुम्ला जिल्लासँग सीमा जोडिएको क्षेत्रमा आफ्नै भूमिमा भवन निर्माण गरेको दाबी गरेको छ ।

नयाँ निर्माण गरिएको गाउँ बुराङ काउन्टीका अधिकारीले चीनले नेपाली भूमि मिचेर भवन निर्माण गरिएको भन्ने कुरा सत्य नभएको बताएका हुन् ।

भवन निर्माण गरिएको ठाउँ चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने बुराङ काउन्टीका अधिकारीले चिनियाँ पत्रिका ग्लोबल टाइम्सलाई दिएको अन्तर्वातामा दाबी गरेका छन् ।

बुराङ काउन्टीको परराष्ट्र सम्बन्ध कार्यालयका निर्देशक बाकीले भवन बनाउनुभन्दा अगाडि गत मे महिनामा सेना, स्थानीय नापी तथा सर्वेक्षण अधिकारीहरुले उक्त क्षेत्रको विस्तृत अध्ययन गरेको बताएका छन् । अध्ययनका क्रममा उक्त क्षेत्र चिनियाँ भूमि नै रहेको भेटिए पछि मात्रै भवन बनाइएको बाकीले दाबी गरेका छन् ।

‘निर्माण भएका भवन पूर्ण रुपमा चीनको भू–भाग भित्र पर्छन् । सबैभन्दा नजिकको भवन दुई देशको सीमाभन्दा १ किलोमिटर टाढा रहेको छ,’ बाकीले भनेका छन् ।

चिनियाँ पक्षले नेपाली भूमि मिचेर भवन निर्माण गरिएको विषय नेपालमा चर्चामा आएपछि उक्त ठाउँमा पुनः सर्वेक्षण गरिएको र पुनः गर्दा पनि उक्त भूमि चीनमै पर्ने देखिएको बाकीले दाबी गरेका छन् ।

ग्लोबल टाइम्सले आफ्नो समाचारमा उल्लेख गरेको नक्सा । जसमा नेपाल–चीन सीमा छुट्याउने ११ र १२ नम्बर पिल्लरको बीचमा चिनियाँ क्षेत्रमा पर्ने गरी भवन बनाइएको देखाइएको छ ।

केही महिना अगाडि मात्रै चीनले नेपाली भूमि मिचेर भवन निर्माण गरेको विषय नेपाली सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो ।

त्यसपछि सरकारले चीनले भूमि मिचेको भनिएको क्षेत्र हुम्लाको नाम्खा गाउँपालिका–५ लाप्चाको लोलुङजुङको स्थलगत अध्ययनका लागि टोली परिचालन गरेको थियो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी नेतृत्वमा नेपाली सेना, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली लोलुङजुङ पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारीको टोलीले आफ्नो प्रतिबेदन नबुझाउँदै सरकार (परराष्ट्र मन्त्रालय)ले चीनले नेपाली भूमि मिचेर भवन निर्माण गरेको भन्ने खबर सत्य नभएको बताएको थियो ।

पछि, प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोलीले पनि चीनले भवन निर्माण गरेको क्षेत्र नेपाली भूमि नभइ चिनियाँ भूमि नै भएको निष्कर्ष निकालेको थियो ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने चीनले हुम्लामा २ किलोमिटर नेपाली जमिन अतिक्रमण गरेको जनाएको छ ।

कांग्रेसको कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनका क्रममा चीनले चीनले हुम्लामा २ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको देखिएको कांग्रेसको भनाइ छ ।

शाही नेतृत्वको टोलीले ११ दिन लगाएर गरेको भनिएको स्थलगत अध्ययनको प्रतिवेदन पनि कांग्रेसले सार्वजनिक गरिसकेको छ । तर, त्यस विषयमा सरकारी पक्षबाट कुनै धारणा भने सार्वजनिक भइसकेको छैन ।


नेपाल–चीन सीमा विवाद : चीनले आफ्नै भूमिमा भवन बनाएको हुम्लाका सीडीओको टोलीको निष्कर्ष


प्रतिक्रिया दिनुहोस्