किन लगाउने जमरा ? यस्तो छ धार्मिक र वैज्ञानिक महत्व

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : २४


विजया दशमीमा मान्यजनबाट टीका ग्रहणपछि शिरमा सिउरिइने धान, गहुँ, मकै र जौका लामा आँकुरालाई जमरा भन्ने गरिन्छ । टीका ग्रहणपछि जमरा शिरमा राखिदिने चलन छ ।

घटस्थापनाका दिन पूजाकोठामा धान, गहुँ, मकै र जौ छरेर त्यसबाट टुसाएका आँकुरालाई देवीको प्रसादका रूपमा सिउरिने परम्परा छ । यो परम्परालाई नेपालीले मात्र अनुशरण गरेको पाइन्छ ।

नेपालीको बसोवास रहेका अन्य मुलुकमा पनि यसलाई निरन्तरता दिइएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि जमरा महत्वपूर्ण छ ।

आश्विन शुक्ल प्रतिपदामा घरघरमा जमरा राख्दै घटस्थापना गरिन्छ, जुन नवरात्रिको पहिलो दिन पनि हो । नदीको बालुवा ल्याएर घरको पूजाकोठा वा मन्दिरमा राख्ने गरिन्छ । र, त्यसमा किराले नखाएको शुद्ध जौ छरिन्छ । पूजा, अर्चनापछि छरेको जौलाई तामा वा पित्तलको भाँडाले छापिन्छ । त्यसो गर्दा जमरा पहेँलो हुने विश्वास छ । यो चलन कहिलेदेखि सुरु भएको हो भन्ने यकिन छैन ।

जमराको महत्व

जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । यसैकारण होला यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ ।

पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महत्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको उपयोगिता धेरै छ । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ ।

आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाई उनीहरूको छ ।

यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ ।

अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तìव भन्दा जौ वा यसको अङ्कुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ ।

जौमा यस प्रकारका प्रशस्त गुण रहने हुनाले पनि यसको अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइएको हुनसक्ने बुझाई कायम छ । यहि बुझाईकै कारण समृद्धिको प्रतिकका रुपमा जमरा लगाउने परम्परागत प्रचलन रहिआएको मान्न सकिन्छ |

स्वास्थ्यका लागि फाइदाजनक

जौ पौष्टिक गुणयुक्त अन्न हो । चिकित्सा विज्ञानमा यसलाई औषधिका रूपमा लिने गरिन्छ । त्यसैले जौको जमरालाई सांस्कृतिक मात्र नभई स्वास्थ्यका दृष्टिकोणले समेत अति उपयोगी मानिन्छ ।

पछिल्लो समय जमराको जुस बनाएर खाने प्रचलन बढेको छ ।

आयुर्वेदमा जौलाई विशेष औषधि मानिएको छ । जमराको जुस सेवन गर्दा रगतमा हेमोग्लोबिनको मात्रा बढ्ने विभिन्न अनुसन्धानबाट प्रमाणित भएको छन् । छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, रक्तचाप, घाउ, चोटपटकलगायत स्वास्थ्य समस्यामा जमराको जुसलाई औषधिका रूपमा प्रयोग गरिन्छ ।

हरियो जमरामा शरीरलाई आवश्यक खनिज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् ।

जमरामा प्रशस्त क्लोरोफिल हुने भएकाले एन्टिअक्सिडेन्टको गुण पनि पाइन्छ, जसले कोषलाई छिटो बुढो हुनबाट बचाउँछ र शरीर तन्दुरुस्त राख्न मद्दत गर्छ ।

शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।

 


प्रतिक्रिया दिनुहोस्