‘भगवान शिव र ब्रम्हा’ आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव छैन : कृषि मन्त्री

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ४ : १९


काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा ‘भगवान शिव र ब्रम्हा’ आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको बताएका छन् ।

४० औँ विश्व खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भुसालले ५ लाख मेट्रिक टन मल अहिलेको व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका छन् ।

भुसालले तत्काल ५ लाख मेट्रिक टन मल ल्याउन ‘भगवान शिव वा ब्रम्हा आए पनि नसक्ने’ टिप्पणी गरे।

कलकत्ताको पोस्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताए ।

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको बताए ।

अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उनले बताए ।

कृषि प्राविधिकहरूले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको बताए ।

किसानले मल नपाएर कोरोना भाइरसको संक्रमण फैलिइरहेको बेलामा लामो लाइन लाग्नुपरेको थियो । जहाँ केही किलो मात्र मल प्राप्त भएको थियो । त्यस्तो बेलामा सरकारले बंगलादेशबाट मल ऋण माग्ने प्रक्रिया अगाडि बढाएको थियो । तर, अहिले विभागीय मन्त्रीको यो अभिव्यक्ति आएको हो ।

 


प्रतिक्रिया दिनुहोस्