नेपाली सेनाले दशैं बिदामा घर जाने सैनिकलाई आफ्नै गाडी र हेलिकोप्टरबाट पुर्याउने!

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  २ : २२


काठमाडौं । नेपाली सेनाले दसैँ बिदामा जाने सैनिकहरुलाई घरसम्मै आफ्नै साधनमा पुर्‍याउने भएको छ।

सार्वजनिक यातायातमा कोरोना संक्रमणको जोखिमका कारण सेनाले आफ्नै सवारी साधनमा घर पुर्‍याउने व्यवस्था गर्न लागेको छ।

सवारी साधनको व्यवस्था र रुटको बारेमा सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले यसबारे तयारी गरिरहेको बताइएको छ।

यातायातको सुविधा भएको ठाँउमा गाडीमा र पहाडी र हिमाली जिल्लामा भने जहाज तथा हेलिकोप्टरबाट पुर्‍याउने व्यवस्था सेनाले गर्न लागेको हो।

नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यसरी सवारी साधनको व्यवस्था गर्दा रुट र बिदामा जाने सैनिकको संख्या अनुसार व्यवस्था गरिएको छ।

बिदा सकेर फर्केका सैनिक अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने र पीसीआर परीक्षण पछि रिपोर्ट नेगेटिभ आएपछि मात्रै काममा खटिन पाउनेछन्।

अहिलेसम्म देशभर गरेर तीन हजार २४४ जना नेपाली सेनाका पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाली सेनाले संक्रमित सैनिकको लागि ब्यारेकहरुमा क्वारेन्टाइन र आइसोलेन बनाइसकेको छ।

वीरेन्द्र सैनिक अस्पतालमा २० बेड आईसीयू र ८० बेडको आइसोलेसन कक्ष बनाइएको छ। सूर्यविनायक ब्यारेकमा ७० बेड, सैनिक महाविद्यालयमा एक सय बेड र खरिपाटीमा एक सय २५ बेडको आइसोलेसन सेनाले आफ्ना लागि तयार गरेको छ। हरेक जिल्लाका ब्यारेकमा अवस्था हेरेर आइसोलेसन तयार गरेको सेनाले जनाएको छ।

कोरोना जोखिमका कारण नियमित तालिम भने रोकिएको छ।

सैनिक मुख्यालयले यस्तो तयारी गरिरहेको बताएपछि केहीले यसलाई सेनाको प्रचारमुखी काम भनेका छन्।

लामो समयदेखि बिदानै नपाएका सिपाहीले यस्तो सुविधा पाउनेमा आशंका व्यक्त गरेका छन्।

दशैंका लागि मात्र नभएर नेपाली सेनाले सधैका लागि बिदामा घर आउन-जान पूर्व-पश्चिम रुटमा नि:शुल्क बसको व्यवस्था गरिदिए गौरवान्वित हुने सिपाहीहको अपील छ।


प्रतिक्रिया दिनुहोस्