सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर ओखलढुङ्गामा २२ बाँदरको मृत्यु

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ११ : २२


सिद्धिचरण । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ सानीटारमा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बिहीबार साँझ २२ वटा बाँदर मरेका छन् ।

पोखरीमा डुबेकामध्ये १२ वटा बाँदरको स्थानीय बासिन्दा र डिभिजन वन कार्यालयका कर्मचारीले जीवितै उद्दार गरेका छन् ।

सिँचाइका लागि बनाइएको उक्त सिमिन्टेड पोखरीमा यसअघि पनि बाँदरहरु पानी पिउनका लागि आउने गरेका थिए । त्यस क्षेत्रमा किसानले लगाएको अन्नबाली खाएर बाँदरले दुःख समेत दिँदै आएका थिए ।

डिभिजन वन कार्यालय ओखलढुङ्गाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार पोखरीको बाहिरी सतहभन्दा पानी केही तल भएका कारण बाँदरहरु पानी पिउन पोखरीमै गएको देखिन्छ । जसकारण उनीहरु पोखरीमै डुबेको हुनसक्ने श्रेष्ठले बताए ।

‘यसअघि पानीको सतह पोखरीको बाहिरी सतह बराबरै हुँदा पानी पिएर फर्किन्थे । तर, हिजो (बिहीबार) पानीको सतह तल भएकाले पिउन पोखरीमा जाँदा उनीहरु डुबेको देखिन्छ,’ श्रेष्ठले भने ।

बाँदरको सामूहिक मृत्यु भएपछि स्थानीय जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर मरेका बाँदरको अन्त्येष्टि गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्