नयाँ अध्ययन भन्छ– कोरोनाले जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्छ

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : १२


कोभिड–१९ को संक्रमण गराउने कोरोना भाइरसले मानिसमा जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्ने एक नयाँ अध्ययनले देखाएको छ ।

बीबीसीका अनुसार बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले गरेको अध्ययनमा यस्तो निष्कर्ष निकालिएको हो । यसको संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्ण रुपमा समाप्त पारिदिन सक्ने अनुसन्धानमा उल्लेख छ । बेलायतमा एउटा यस्तै घटना भेटिएको छ ।

अनुसन्धानकर्ताका अनुसार संक्रमणपछि स्टेरोयड औषधि दिँदा यसको असर नकारात्मक हुनसक्छ । यो बहिरोपनको रुपमा पनि देखा पर्ने गर्छ । यद्यपि, बिरामीको श्रवण शक्ति कसरी घट्छ, यो पूर्ण रुपमा स्पष्ट हुन सकेको छैन । थुप्रै पटक फ्लू, हर्पिजजस्ता भाइरल संक्रमणको मामिलामा यस्तो हुनेगर्छ ।

अनुसन्धानकर्ताका अनुसार बिरामीको कानको परीक्षण गर्दा त्यसमा न त कुनै अवरोध थियो न नै कान सुन्निएको थियो । यो घटनापछि बिरामीको थुप्रै परीक्षण गरियो । यसमा फ्लू, रुमेटोयड अर्थराइटिस, एचआईभीको परीक्षण समावेश थियो । अनुसन्धानमा पाइए अनुसार बिरामीको बहिरोपनको कारण कोरोनाको संक्रमण थियो ।

अनुसन्धानकर्ताका अनुसार सुन्ने क्षमता घट्नु र टिनिटस (कानमा आवाज गुञ्जिनु) को लक्षण पनि कोरोना र फ्लूका बिरामीमा देख्न सकिन्छ। तर यस्तो मामिला पहिले देखिएको थिएन ।

वैज्ञानिकका अनुसार कोरोनाले कानमो मध्ये भागलाई पनि प्रभावित पार्न सक्छ । यो भाइरसले शरीरमा यस्तो रसायन बढाउने गर्छ जुन सुन्ने क्षमतासँग जोडिएको हुन्छ । बीबीसी


प्रतिक्रिया दिनुहोस्