प्रदर्शनमा अश्रुग्यास प्रहारः सुरक्षाकर्मी र कार्यकर्ता घाइते

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : ०१


नेपाली कांग्रेस सर्लाहीले सदरमुकाम मलङ्गवामा आज गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा प्रतिनिधिसभा सदस्य अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश नं २ का प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायत नेता सहभागी रहेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको कांग्रेसले आरोप लगाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले आफूहरुले हवाई फायर नगरेको तर ३१ राउण्ड अश्रुग्यास र सामान्य लाठी चार्ज गरेको बताए।

भीड नियन्त्रण बाहिर गएपछि आफूहरुले बाध्य भएर अश्रुग्यास र सामान्य लाठी चार्ज गर्न पुगेको प्रहरी उपरीक्षक राठौरको स्वीकारे।

मलङ्गवा पब्लिक मावि अगाडिबाट विरोध प्रदर्शन शुरु गरिएको थियो । हत्याको छानबिन र उजूरी लिन माग गर्दै गरिएको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रदेशसभा सदस्य सिंहले बताए।

प्रदेशसभा सदस्य सिंहले प्रहरीले सयौंँ राउण्ड हवाई फायर गरेको जिकिर गरे।

प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको कांग्रेस सर्लाहीले जनाएको छ । घटनाका दोषीलाई कारवाही तथा मृतक रामलाई शहीद घोषणा गर्न माग गर्दै कांग्रेस सर्लाहीले विरोध प्रदर्शन गरेको हो ।

प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका चार जना घाइते भएको जानकारी दिनुभयो । घटनामा विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिएको प्रहरी प्रमुख सिंहले जानकारी दिए।

कांग्रेसले राम मृत्यु प्रकरणका विषयमा सत्यतथ्य छानबिन गर्न सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो । प्रहरीले घटनाको छानबिन नगरेर पीडित परिवारका तर्फबाट जाहेरीसमेत लिन नमानेको कांग्रेसको आरोप छ । रामनगर–७ सिसौट बस्ने राममाथि यही असोज २१ गते बेलुका आफ्नो घरअघि बसिरहेका बेला १२÷१५ जनाको समूहमा आएका अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए।

आक्रमणमा परी गम्भीर घाइते भएका रामको असोज २२ गते उपचारका क्रममा इन्डो अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो।

रामको निधनपछि शव परीक्षणका लागि सर्लाहीस्थित मलङ्गवा अस्पतालमा परिवारले ल्याउन खोजे पनि प्रहरीले दबाब दिएर वीरगञ्जस्थित नारायणी अस्पतालमा राखेको कांग्रेसको आरोप छ। रासस


प्रतिक्रिया दिनुहोस्